रुपन्देही – नेपालमा प्रविधि शिक्षालाई उद्योगको आवश्यकता अनुरूप रूपान्तरण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र रेडियन्ट कलेजबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौताले परम्परागत शैक्षिक अध्यापन र तीव्र रूपमा विकसित भइरहेको सूचना प्रविधि (आईटी) उद्योगबीचको दूरी घटाउने लक्ष्य लिएको छ। रेडियन्ट कलेजको शैक्षिक अनुभव र लुम्बिनी टेकको व्यावहारिक उद्योग अनुभवलाई जोड्दै स्थानीय युवालाई दक्ष आईटी जनशक्ति बनाउने तथा डिजिटल युगअनुकूल सीप विकास गर्ने उद्देश्य राखिएको छ।
सम्झौताअनुसार सूचना प्रविधि उद्योगको मागअनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र सफ्टवेयर इन्जिनियरिङजस्ता विषयलाई पाठ्यक्रमसँग जोडिनेछ। साथै विद्यार्थीहरूका लागि इन्टर्नशिप, लाइभ प्रोजेक्ट, अत्याधुनिक सफ्टवेयर तथा एआई प्रयोगशालाको विकास, उद्योग विज्ञद्वारा मेन्टरसिप, फ्याकल्टी विकास कार्यक्रम तथा उत्कृष्ट र नवप्रवर्तनशील विद्यार्थीका लागि छात्रवृत्ति र आर्थिक अनुदानको व्यवस्था गरिने जनाइकाे छ।
समझदारीपत्रमा लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धनबहादुर राना र रेडियन्ट कलेजका प्रिन्सिपल अनन्त पाण्डेले हस्ताक्षर गरेका छन्। लुम्बिनी टेकका संस्थापक निर्देशक कृष्ण सापकोटा साक्षीका रूपमा सहभागी भएका थिए।
सम्झौतापछि संस्थापक अध्यक्ष रानाले स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै विद्यार्थीलाई प्रमाणपत्रसँगै सफल करियर निर्माणका लागि आवश्यक व्यावहारिक अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए। प्रिन्सिपल पाण्डेले उद्योगमैत्री पाठ्यक्रम र परियोजना-आधारित सिकाइले विद्यार्थीलाई अध्ययन पूरा गरेलगत्तै रोजगारी बजारमा प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।