- सीप प्रमाणीकरणको विषयमा गम्भीर नबनेको आरोप
काठमाडौं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले साउदी अरबले लागू गरेको सीप प्रमाणीकरण कार्यक्रम (स्किल भेरिफिकेसन प्रोग्राम- एसभिपी)बारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ गम्भीर नभएको आरोप लगाएको छ । बिहीबार संघका अध्यक्ष डिकबहादुर खत्रीलाई पत्राचार गर्दै एसोसिएसनले व्यवसायीको छाता संस्थाले व्यवसायीका समस्या तथा हक हितसँग सम्बन्धित विषयमा अपेक्षित ध्यान दिन नसकेको आरोप लगाएको हो ।
एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे र महासचिव सुमनराज पाण्डेले पठाएको पत्रमा एसभिपीको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ । आफू निर्वाचित भएर आएपछि एसभिपीका नाममा सिण्डिकेट लागू गर्न खोजिएकोप्रति सम्बन्धित निकायले बुझ्नेगरी अंग्रेजी भाषाको दैनिक पत्रिकामा अंग्रेजी भाषामा विज्ञप्ति प्रकाशन गरेको पनि एसोसिएसनले स्मरण गराएको छ । ‘व्यवसायीहरुको छाता संस्थाले आजका दिनसम्म पनि सम्बन्धित निकायले बुझ्न सक्नेगरी अंग्रेजी भाषामा या सोही देशको आफ्नो भाषामासमेत प्रेस विज्ञप्ति प्रकाशित गरी सिण्डिकेट प्रणालीप्रति संघको स्पष्ट धारणा आमव्यवसायीमाझ सर्कुलर गर्न नसक्नु चिन्ताको विषय बनेको छ,’ पत्रमा भनिएको छ । एसोसिएसनले संघलाई सम्बन्धित विषयमा गम्भीरतापूर्वक लागेर कडा कदम चाल्न अनुरोध गरेको छ ।
एसभिपीको नाममा सिण्डिकेट लागू गर्न खोज्नेहरुको पहिचान गरी किन नाम प्रकाशन नगरेको ? तथा व्यवसायीभित्रैबाट कसैको संलग्नता भए किन स्पष्टीकरण नसोधेको ? भनी एसोसिएसनले संघमाथि प्रश्न उठाएको छ । सिण्डिकेटको नाममा गरिने व्यवसायीमारा कार्यहरुको विपक्षमा रहेको एसोसिएसको दाबी छ ।
साउदी दूतावासले असार ३ गते सीप प्रमाणीकरण कार्यक्रमको उद्घाटन कार्यक्रम राखेको थियो । तर, वैदेशिक रोजगार व्यवसायीहरुले साउदी राजदूतले उद्घाटन गर्न लागेको कार्यक्रम बिथोलिदिए । त्यसपछि उक्त कार्यक्रम स्थगन गरिएको थियो । साउदी दूतावासले अन्य मुलुकमासमेत यो कार्यक्रम लागू भइसकेकाले नेपालमा पनि कार्यान्वयन गरिने अडान दोहो¥याएको थियो । दूतावासले सोही अडानको पत्र बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको छ । मन्त्रालयले यस विषयमा अध्ययन तथा सरोकारावालासँग छलफलपछि निर्णय लिने जनाएको छ ।
साउदी दूतावासले यो कार्यक्रम श्रमिककै हितमा रहेको दाबी गर्दै आएको छ । दूतावासकाअनुसार दक्ष कामदारको सुनिश्चित गर्न सीप प्रमाणीकरण गर्न लागिएको हो । हाल लोड/अनलोड वर्कर, क्यारियर, ह्विलब्यारो वर्कर, कन्स्ट्रक्सन र कस्न्ट्रक्टिङ वर्क गरी पाँचवटा पेसाका लागि सीप प्रमाणीकरण लागू गरिने र पछि अन्य पेसामा विस्तार गर्दै लगिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । यसका लागि श्रमिकले सैद्धान्तिक र प्रयोगात्मक परीक्षाबापत करिब १५ हजार रुपैयाँ बुझाउनुपर्नेसमेत भनिएको छ ।