काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका हुन् ।
उनले आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताएका छन् । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विस्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले पोस्टमा लेखेका छन् ।
मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने उल्लेख गरे । सामाजिक सञ्जालमा विद्यार्थीहरूप्रति भएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नाे ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुर्व्यवहार तथा अपमानजनक टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन् ।
यसैबिच नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै परीक्षांक र डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ ।