समूह बनाउने पछाडि नलाग्नुहोला । अहिले नै त्यस्तो बीउ नरोपौं, जुन भोलि रुख बनेर पार्टीलाई बीचबाट चिरोस् । यस्तो बीउ रोप्ने र यस्तो रुख हुर्काउने काम हामी नगरौं ।
वालेन्द्र शाह
प्रधानमन्त्री तथा वरिष्ठ नेता, रास्वपा
काठमाडौं- गत २१ फागुनको निर्वाचनबाट १८२ सिटसहित दुईतिहाइ नजिकको सरकार बनाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रस्ट तीन गुट देखिएको छ । ती गुट हुन् सभापति रवि लामिछाने समूह, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह समूह र अर्को अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समूह ।
आज गुट र उपगुटको राजनीति गर्ने प्रचलन कतै हामीभित्र पनि नपसोस् । यदि हामीले गुटबन्दीको बीउ रोप्यौं भने त्यसले भोलि विषालु फल दिने छ । वरिष्ठ नेताज्यूले भन्नुभएझैँ, त्यस्तो अवस्था आएमा हामीले त्यो वृक्ष नै काट्नुपर्ने हुन सक्छ ।
रवि लामिछाने
सभापति, रास्वपा
यी तीन समूहमा विशेषगरी पार्टी स्थापनाकालदेखिका नेताहरु लामिछाने समूहमा छन् भने कांग्रेसबाट रास्वपामा प्रवेश गरेका अधिकांश स्वर्णिम समूहमा । बाँकी युवाहरुको समूह भने प्रधानमन्त्री शाहको समूहमा छन् । सरकार गठनपछि प्रधानमन्त्री शाहले एकलौटी शैलीमा शासन अघि बढाउनुका साथै लामिछाने समूहका कुनै पनि सांसद र नेताले मन्त्रीहरुसँगसमेत भेट्न पाइरहेका छैनन् । सांसदहरु र नेताहरु उकुसमुकुसलाई लिएर पहिलो महाधिवेशनमा चितवनमा जुटिरहँदा सभापति लामिछाने र वरिष्ठ नेता शाहले पार्टीभित्र गुट उपगुट नगर्न चेतावनी दिएका छन् ।
रवि ठूलो कि वालेन्द्र भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको पाँच वर्षको भविष्य सुनिश्चित छ ।
डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री
चितवनको भरतपुरस्थित गेस्ट हाउसचौरमा आइतबार भएको महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले गुटको बीउ नरोप्न चेतावनी दिए । ‘पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा संस्कार बिग्रँदै गएको थियो- गुट बनाउने, उपगुट बनाउने । यहाँ महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, केन्द्रीय सदस्य उठ्ने सोचमा हुनुहुन्छ, पदाधिकारी बन्ने सोचमा हुनुहुन्छ । तपाईंहरूलाई एउटा कुरा स्पष्टरूपमा भन्न चाहन्छु- राम्रो नेता बन्न र राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूहको मायाले हुँदैन,’ उनले भने, ‘त्यसैले समूह बनाउने पछाडि नलाग्नुहोला । अहिले नै त्यस्तो बीउ नरोपौं, जुन भोलि रुख बनेर पार्टीलाई बीचबाट चिरोस् । यस्तो बीउ रोप्ने र यस्तो रुख हुर्काउने काम हामी नगरौं ।’
प्रधानमन्त्री शाहले पार्टीलाई एकै बनाइराख्नसमेत निर्देशन दिए । ‘पार्टी भनेको एकै ठाउँमा राख्ने कुरा हो । पार्टीलाई एक बनाइराख्नुपर्छ । आज, भोलि र पर्सी हामी पार्टीको बारेमा सोचौं, त्यसपछि आगामी पाँच वर्ष देशको बारेमा सोचौं,’ उनले भने । प्रधानमन्त्री शाहको सम्बोधनलगत्तै रास्वपा सभापति लामिछानेले पनि उनकै शैलीमा गुटबन्दीको बीउ नरोप्न आग्रह गरे । ‘आज गुट र उपगुटको राजनीति गर्ने प्रचलन कतै हामीभित्र पनि नपसोस् । यदि हामीले गुटबन्दीको बीउ रोप्यौं भने त्यसले भोलि विषालु फल दिने छ । वरिष्ठ नेताज्यूले भन्नुभएझैँ, त्यस्तो अवस्था आएमा हामीले त्यो वृक्ष नै काट्नुपर्ने हुन सक्छ,’ लामिछानेले भने ।
उनले सरकारको नेतृत्वमा वालेन्द्र नै रहने र पार्टीमा कुनै हालतमा फुट नआउनेसमेत ठोकुवा गरे । ‘सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब गोल गर्ने जिम्मा वालेन्द्रजीकै हो । उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ । झुक्किएर कतै त्यो बल मतिर आएछ भने पनि म त्यसलाई उहाँकै खुट्टामा पास गरिदिने छु । यहाँ चुक्ली लगाउने र मुख मिठ्याउनेहरू धेरै छन्, तर म उनीहरूलाई होइन, इतिहासलाई जवाफ दिन उभिएको हुँ,’ लामिछानेले भने, ‘पद र गुटका लागि लाग्यौं भने इतिहासले धिक्कार्ने छ ।’
गगन र प्रदीपलाई वालेन्द्रको जवाफ
कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपालाई सम्हालिन सुझाव दिएका थिए । रास्वपाको कार्यशैलीमाथि प्रश्न गर्दै ज्ञवालीले भनेका थिए, ‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ । यदि एक्सिलेटरमात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ । रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस् ।’
जवाफमा वालेन्द्रले सरकार एक्सप्रेस वे (द्रुतमार्ग)मा हिँडिरहेको गाडी भएको बताए । ‘गाडीमा एक्सिलेटरमात्र होइन, ब्रेक पनि हुन्छ र ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता व्यक्त गर्नुभएको छ । त्यस्तो चिन्ताचाहिँ लोकल रोडमा हिँड्ने गाडीका लागि हुन सक्छ । त्यहाँ कहिले बायाँबाट गाडी आउँछ, कहिले दायाँबाट मान्छे आउँछन्,’ प्रधानमन्त्री शाहले भने, ‘तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस-वेमा हिँडेको गाडी हो । गन्तव्यमा पुगेपछिमात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन ।’
यतिमात्र हैन ज्ञवालीले पार्टीको विचार र सिद्धान्त पनि प्रस्ट पार्न सुझाएका थिए । यो प्रश्नको पनि वालेन्द्रले नै जवाफ फर्काउँदै रास्वपा विकासवादी पार्टी भएको तर्क अघि सारे । ‘हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो कि सेन्टर हो भनेर धेरै चिन्ता गरिराख्न पर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो । विकास गर्ने र काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो । प्रतिशोध साँध्ने र पुराना कुरामा अल्झिएर निहुँ खोज्दै बस्ने पार्टी होइन,’ उनले भने ।
निहुँ खोज्नुपर्ने अवस्था यसअघि गरेका फटाही, सरकारी सम्पत्ति र जग्गाको दुरुपयोग गर्नेसँग हुने भन्दै उनले अख्तियारसँग पाँच घण्टामात्र हैन पाँच वर्ष पनि सोधपुछ गर्ने उनले बताए । तर, नियम मिच्ने काम आफ्नो पार्टी र सरकारले नगर्ने दाबीसमेत प्रधानमन्त्री शाहले गरे ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सीमासम्बन्धी राखेको प्रश्नमा प्रधानमन्त्री वालेन्द्रले आफूहरुसँग प्रमाण भएको दाबी गरे । ‘हामीले सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरू (भारत)ले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ । आपत्ति जनाउनुभयो,’ वालेन्द्रले भने, ‘मलाई अचम्म लाग्यो । ल, ठीक छ, तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग पनि प्रमाण छ । हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ । र, त्यो प्रमाण ल्याउनका लागि ब्रिटिस शासनकालका अभिलेख खोज्नुपर्छ भने हामी खोज्छौं । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइन । हामी हाम्रा छिमेकीसँग आफैं कुरा गरेर समस्या समाधान गर्छौं । हामीसँग प्रमाण छ र हामी त्यो प्रमाण प्रस्तुत गर्छौं ।’
उद्घाटन सत्रमा कसले के भने ?
रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति थापा, एमाले नेता ज्ञवाली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत पुगेका थिए ।
शुभकामना मन्तव्य दिँदै कांग्रेस सभापति थापाले आफूहरु रास्वपाको दुस्मन नभएको बताए । ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले पार्टी फुटाउने खेल हुन सक्नेतर्फ सचेत गराए । ‘रवि ठूलो कि वालेन्द्र भनेर खेल्न सक्ने हुन सक्छ, तपाईंहरूको एकतामा नै रास्वपाको पाँच वर्षको भविष्य सुनिश्चित छ,’ बाबुरामले भने । उनले राजनीतिक स्थिरता १०-१५ वर्षसम्म होस् भन्ने चाहना आफूले राखेको पनि बताए ।
एमाले नेता ज्ञवालीले रास्वपाको पछिल्लो गति हेर्दा लोकतन्त्र सुरक्षित नरहने हो कि भन्ने आशंका जन्मिएको बताए । ‘हामी चाहन्छौं ती घटना अपवाद बनुन् । रास्वपाको हातमा जनताले लोकतन्त्र सुरक्षित होस् भन्न चाहान्छु,’ ज्ञवालीले भने । नेकपाका नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका साथै सुशासनको मुद्दामा रास्वपालाई आफ्नो पार्टीको समर्थन रहेको बताए । नेता पुनले क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेण्डामा नेकपा रास्वपासँग नजिक रहेको र सुशासनको एजेण्डामा समानता रहेको बताए । जसपाका अध्यक्ष यादवले रास्वपाको महाधिवेशनबाट नयाँ युगको थालनी हुने बताए । ‘अब मुलुक पहिलेका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा जाने र लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ, यो महाधिवेशनले नयाँ युगको थालनीका लागि महर्वपूर्ण सावित हुने छ,’ यादवले भने ।
जनमतका अध्यक्ष राउतले भने प्रधानमन्त्री शाहको प्रशंसा गरे । ‘प्रधानमन्त्रीप्रति जनताको यस्तो माया इतिहासमा कहिल्यै देखिएको थिएन । यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा हामीले पाएका छौं । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ,’ राउतले भने ।
राप्रपा अध्यक्ष लिङ्देनले राजा चाहिन्छ भन्नेहरुले पनि रास्वपालाई मत हालेको तर्क अघि सारे । ‘राजा चाहिन्छ भन्नेहरुको भोट पनि तपाईंहरुलाई छ । राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हुँदाहुँदै वालेन्द्रले राजा ल्याउँछ भनेर तपाईंहरुलाई भोट दिएका छन् । तपाईंहरुको विशिष्ट जिम्मेवारी छ । जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने छ,’ लिङ्देनले भने, ‘यो संविधानमा सुधार नगरिकन देश अगाडि बढ्दैन । तपाईंहरुसित ऐतिहासिक अवसर छ ।’