काठमाडौं- पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया पुगेका श्रमिकहरु रोजगार अवधि पूरा नगरी फर्कने क्रम बढ्न थालेको छ । त्यहाँको रोजगार तथा श्रम मन्त्रालयले पछिल्लो तीन वर्षमा ई-९ भिसाअन्तर्गत कोरिया प्रवेश गरेकामध्ये नौ हजार ७२१ जना विदेशी श्रमिकले बीचमै मुलुक छोडेको जनाएको छ । यो संख्या सन् २०२३ देखि २०२६ को अप्रिलसम्मको रहेको जनाइएको छ ।
दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत नेपालसहित १७ वटा मुलुकबाट कामदार लैजाँदै आएको छ । कामदार र रोजगारदातालाई एकअर्काबारे पर्याप्त जानकारी नहुँदा कम्पनी छोड्ने क्रम बढ्दो रहेको सोल इकोनोमिक डेलीले जनाएको छ । कम्पनी छोडिसकेपछि तीन महिनाभित्र काम नपाउने कामदारले घर फर्किनुपर्ने व्यवस्थाका कारण यस्तो संख्या बढ्न थालेको बताइएको छ ।
सन् २०२३ मा एक हजार ८९९ जना यसरी फर्किएकामा गत वर्ष यस्तो संख्या तीन हजार ७०८ पुगेको कोरियाको सरकारी तथ्यांक छ । यस वर्षको पहिलो चार महिनामै एक हजार ३०९ जना फर्किएका छन् । यस वर्षको अन्त्यमा गत वर्षको भन्दा धेरै कामदार फर्किने अनुमान गरिएको छ ।
कामदारहरु घर फर्किने क्रम अचानक बढ्नुमा इपिएस प्रणालीको संरचनात्मक समस्या कारक रहेको विश्लेषण गरिएको छ । इ-९ भिसामार्फत कामदार कोरिया प्रवेश गर्नुअघि नै कम्पनी तोकिन्छ । तर तलब स्तर, बसोबास र कामको दबाबजस्ता विषयमा सीमित जानकारीमात्र पाउँछन् । त्यस्तै रोजगारदातालाई पनि कामदारको सीप स्तर, उक्त मुलुकमा बस्ने इच्छालगायतको अनुमान गर्न कठिन हुन्छ । यसर्थ कामदार र रोजगारदाताको अपेक्षा नमिल्दा कम्पनी परिवर्तन गर्ने सम्भावना बढेको जनाइएको छ ।
कामदारहरु सोल महानगर क्षेत्रका कार्यस्थललाई प्राथमिकता दिने हुँदा मूल रोजगारदाता कम्पनीलाई सेतुका रुपमा प्रयोग गर्ने प्रवृत्ति बढेको त्यहाँका कम्नीहरुले बताउने गरेका छन् । यसले कम्पनीको पर्खने समय, आवासको व्यवस्था, प्रशिक्षण खर्च आदिमा धेरै नोक्सानी हुने जनाइएको छ ।