पछिल्लो समय मुलुकका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको ‘बर्ड फ्लु’ संक्रमणले जनस्वास्थ्य र देशको पशुधन सुरक्षामा ठूलो चुनौती थपिदिएको छ । कोशी प्रदेशबाट सुरु भई बागमती प्रदेश र विशेषगरी काठमाडौं उपत्यकाभित्रका व्यावसायिक फार्म हुँदै जावलाखेलस्थित सदर चिडियाखानामासमेत यसको व्यापक संक्रमण देखिनुले स्थिति भयावह बन्दै गएको प्रस्ट पारेको छ । चिडियाखानाभित्र पक्षीमामात्र नभई नीरबिरालो र चरीबाघजस्ता स्तनधारी जनावरमासमेत बर्ड फ्लु संक्रमण पुष्टि हुनु अत्यन्तै चिन्ताजनक विषय हो । यो केवल पक्षीमामात्र सीमित रहने रोग नभई जनावरबाट मानिसमा सर्न सक्ने प्रकृतिको भएकाले यसलाई हल्का रूपमा लिनु गम्भीर भूल हुने छ ।
यसैबीच चिडियाखानाजस्तो सार्वजनिक र संवेदनशील स्थलमा संक्रमण फैलिँदा पनि सूचना लुकाएको घटनासमेत सार्वजनिक भएको छ । केन्द्रीय निकायलाई बेलैमा रिपोर्टिङ नगरेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ । यदि यस्तो लापारवाही गरेकै हो भने त्यो अक्षम्य हुने छ । तर, कारबाहीमात्र यसको स्थायी समाधान होइन । लाखौं कुखुरा र पक्षीहरू नष्ट भइरहेको र करोडौंको क्षति बेहोर्नुपरेको हालको संवेदनशील परिस्थितिमा महामारी नियन्त्रणका लागि राज्य र सरोकारवालाहरूले युद्धस्तरमा प्रभावकारी कदम चाल्न ढिला भइसकेको छ ।
यस संक्रमणको चक्रलाई तोड्न र सम्भावित मानवीय संकटबाट बच्न तीनै तहका सरकार, व्यवसायी तथा नागरिक तहले सक्रिय भूमिका खेल्नु आवश्यक छ । सरकारले प्रभावित क्षेत्रहरूमा ‘र्यापिड रेस्पोन्स टिम’ लाई अझ सक्रिय बनाउँदै कडा जैविक सुरक्षा लागू गर्नुपर्छ । खुला सिमानाका कारण अवैधरूपमा हुने पक्षीजन्य पदार्थको ओसारपसार रोक्न सीमा नाकामा भेटेरिनरी क्वारेन्टाइनलाई कडा बनाइनुपर्छ । साथै, प्रभावित किसानहरूलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था समयमै गरेर रोग लुकाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

चिडियाखाना प्रशासनले निमित्त प्रमुखको नेतृत्वमा सम्पूर्ण परिसरलाई पूर्णरूपमा कीटाणुरहित बनाउनुपर्छ । रैथाने र जंगली चराहरू (जस्तैः काग र बकुल्ला) बाट खोरभित्रका जीवजन्तुमा संक्रमण नसरोस् भन्नका लागि विशेष जाली र सुरक्षित बारको व्यवस्थापन चुस्त राख्नुपर्छ । किसानहरूले आफ्नो फार्ममा जैविक सुरक्षाका उपायहरू कडाइका साथ अपनाउनुपर्छ । फार्ममा बाहिरी गाडी तथा व्यक्तिको प्रवेशमा रोक लगाउने, दाना र अण्डाका क्रेटहरू निसंक्रमण गरेरमात्र प्रयोग गर्ने र कुनै पनि पक्षी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकैको पशु सेवा केन्द्रमा खबर गर्नुपर्छ । उपभोक्ताहरूले कुखुराको मासु वा अण्डा राम्रोसँग पकाएर (कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथि) मात्र उपभोग गर्नुपर्छ । मरेका वा बिरामी चराचुरुंगीहरू भेटिएमा खाली हातले नछुने र तुरुन्त स्थानीय निकायलाई खबर गर्ने बानी बसाल्नुपर्छ ।
सदर चिडियाखानामा फैलिएको बर्ड फ्लुको संक्रमणले हामीलाई एउटा गम्भीर चेतावनी दिएको छ । जैविक सुरक्षामा गरिने सानो लापरवाहीले पनि जनस्वास्थ्यमा ठूलो महामारी निम्त्याउन सक्छ । तसर्थ, संक्रमण लुकाउने वा आलटाल गर्ने प्रवृत्तिलाई त्यागेर पारदर्शी सूचना प्रणालीको विकास गरौं र यस संकटको घडीमा राज्यका संयन्त्रहरूले ढिलासुस्ती नगरी रोकथामका प्रभावकारी कदमहरू द्रुत गतिमा अघि बढाऊन् ।