

दोहा– कतारमा मंगलबारदेखि मेट्रो तथा सार्वजनिक यातायात सुचारु हुने भएको छ ।
कतारले कोरोना महामारी (कोभिड(१९) को कारण लगाएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाउने निर्णय अनुसार चौँथो तथा अन्तिम चरणमा मंगलबारदेखि मेट्रो तथा सार्वजनिक यातायात सुचारु हुने भएको हो ।
कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार १ सेप्टेम्बर अर्थात मंगलबारदेखि मेट्रो, कर्बा बसलगायत सार्वजनिक यातायात सेवा ३० प्रतिशत यात्रु क्षमता राखेर पुनः सुचारु गरिने भएको छ ।
सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू अपनाएर सुनिश्चित गर्न सुपरभाइजरहरू परिचालन गरी यातायात पुनः सुचारु गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यातायातको टिकट अनलाइन बुकिङ गर्नु पर्ने, स्टेसनभित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउने प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।
धूमपान गर्न नपाइने तथा सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क र संकेतहरू भित्ताहरू, ङ्खलोरहरू र सिटहरूमा अनिवार्य टास्नु पर्ने जनाएको छ । साथै, स्टेसनहरू सेनिटाइजर राख्नु पर्नेछ । मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने र ‘हरियो’ वस्तुस्थिति भएका र मास्क लगाउनेहरूलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।
यसघि कतारको विपत्ति व्यवस्थापन समितिले चौँथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णयअन्तर्गत पहिलो भाग १ सेप्टेम्बरदेखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्तादेखि लागू गरिने जनाएको छ ।
कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ ।
जसमध्ये कोरोना संक्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूताबाससँग पनि तथ्यांक छैन ।
कोरोनाबाट संक्रमित धेरै नेपालीहरू अहिले निको भएर काममा फर्किसकेका छन् ।