काठमाडौं - कांग्रेस नीति, अनुसन्धान अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बुधबार बजे बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार दिउँसो १ बजे बस्नेगरि समय परिवर्तन गरिएको जानकारी दिएका हुन् ।
बैठक पार्टीको केन्द्रीय कार्यालय विपि स्मृति भवन सानेपामा बस्ने छ । उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ-आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।बैठकमा प्रतिष्ठानले तयार पारेको प्रस्तावित आन्तरिक आचारसंहितामाथि समेत विस्तृत छलफल हुने बताइएको छ । पार्टीको आन्तरिक पद्धतिलाई थप व्यवस्थित बनाउन ल्याइएको सो आचारसंहिताका विषयमा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।
यसका साथै बैठकले थप उपसमितिहरूको गठन र तिनीहरूको जिम्मेवारी निर्धारण गर्ने विषयमा समेत निर्णय लिनेछ । प्रतिष्ठानको कामलाई थप प्रभावकारी बनाउनका लागि विभिन्न क्षेत्रगत जिम्मेवारी बाँडफाँट गर्ने तयारी कांग्रेसले गरेको छ । बैठकका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था र विविध साङ्गठनिक विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।