काठमाडौं- सांसदहरूले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको विशेषमा भाग लिँदै उनहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे।
नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विकासको आधारलगायतका विषय प्रस्तुत गर्नुपर्ने बताइन्।
नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल (आचार्य) ले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबाट उत्पन्न पीडा विश्वसामु प्रमाणसहित राख्न सुझाव दिइन्। उनले अन्तर्राष्ट्रिय सहयोगको कुरा गरिरहँदा देशभित्र प्रभावितको राहत र पुनःस्थापनाप्रति समेत जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिइन्।
रास्वपाकी सांसद सुष्मा स्वर्णकार (डिम्पल) ले प्रधानमन्त्रीको भ्रमण फलदायी र उपलब्धिमूलक हुने अपेक्षा गर्दै जलवायु न्यायका सन्दर्भमा नेपालको हिमालको आवाज तथा सीमान्तकृत समुदायलगायत विषय सम्बोधन गर्न माग गरिन्।
रास्वपाकै सांसद सुजाता तामाङले विश्व मञ्चबाट जलवायु जोखिम घटाउन विश्व समुदायलाई दबाब दिनुपर्ने बताइन्। उनले भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विकास ढाँचा र जमिनको पुनःउत्थान एवं समुदायको सामाजिक–सांस्कृतिक पक्षलाई समेत ध्यानमा राखेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन्।