काठमाडौं- छोराको लाससँग सांसद पद साटेको आरोप लाग्छ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडालाई। संसद्मा उनले बोलेको भिडियो सामाजिक सञ्जालमा राख्दा यस्तो अपमानजनक प्रतिक्रिया आउने गरेको छ।
हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खतिवडालाई यही लाञ्छना लगाए। खतिवडामाथि यस्तो लाञ्छना लगाउनेहरू अरु पनि छन्। बारम्बारको यस्तो अपमानजनक लाञ्छना कारण उनी दुःखी छन्। मंगलबार त उनी संसद्मै भावुक भइन्। सम्बोधन गर्दैगर्दा उनले आँसु थाम्न सकिनन्।
‘कसैले छोराको लासमाथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा स्तब्ध छु,’ आँसु पुछ्दै उनले भनिन्, ‘मेरो संसार उजाडिएको छ।’
२३ भदौ २०८२ मा भएको जेन–जी विद्रोहमा खतिवडाका छोरा रसिकले ज्यान गुमाएका थिए। छोरा गुमाएकी उनै खतिवडाको भावुक र आक्रोशपूर्ण सम्बोधनले मंगलबार सदन नै शोकमग्नजस्तो बन्यो। रास्वपाकै सांसद सोम शर्मा र ज्वाला संग्रौलाका पनि आँसु रसाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही, एमाले सांसद साजिदा खातुन सिद्धिकी र रास्वपाकी सांसद समीक्षा बाँस्कोटाले रचनाप्रति सहानुभूति प्रकट गरे। जेन–जी विद्रोहका क्रममा बल प्रयोग गर्ने तत्कालीन सरकार र विद्रोहमा घुसपैठ गर्ने देशी–विदेशी शक्तिलाई कारबाही गर्नुपर्ने आवाज पनि उठ्यो।
यसरी, घृणाजन्य र अपमानजनक टिप्पणी व्यहोर्ने सांसद खतिवडामात्रै होइनन्। थुप्रै सांसद अपमान, गाली र धम्कीको सिकार बन्दै आएका छन्। गत २६ भदौमा प्रतिनिधिसभा बैठकमै नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको बताएकी थिइन्।
रसुवाका बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू ‘साइबर बुलिङ’को सिकार भएको भन्दै उनले महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
कसैले छोराको लासमाथि सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा स्तब्ध छु। मेरो संसार उजाडिएको छ।
रचना खतिवडा
सांसद, रास्वपा
०००
मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार, उद्धार छिटो हुनुपर्छ भनेकै कारण साइबर बुलिङको सिकार हुनुपर्ने ?
एशुदाकुमारी बराल
सांसद, नेकपा एमाले
०००
कसरी समाज यति धेरै नकरात्मकतातिर गयो ? यो अध्ययनको विषय हो तर समाजमा यस्तो मनोवृत्ति विकास हुनु राम्रो होइन।
कृष्णकुमार तामाङ
अपराधशास्त्री
०००
‘सम्माननीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, साइबर बुलिङ किन यस्तो समयमा ? अरुको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने म्यासेज हजारौं छन्,’ उनले भनेकी थिइन्, ‘सरकार उद्धार छिटो हुनुपर्छ भनेकै कारण साइबर बुलिङको सिकार हुनुपर्ने ? महिलामाथि गाली गलौज गर्नेलाई कारबाही गर सरकार, हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो, आज अन्त्य गर्नुपर्छ। घण्टीको फोटो राखेर गाली गलौज गर्ने कार्य भइरहेको छ।’
एमालेकै अर्की सांसद सिद्धिकीले पनि आफूलाई बलात्कार गर्ने धम्की आउने गरेको बताएकी थिइन्। हालै संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सामूहिक गालीगलौज, अपमान र घृणाजन्य धम्कीबाट आफू पीडित बनेको गुनासो गरेकी थिइन्। ‘मलाई रेप गर्ने, मार्ने, भा...जस्ता धम्की दिन्छन् तर उनीहरूलाई कारबाही हुँदैन,’ सांसद सिद्धिकीको भनाइ थियो।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई ज्यान मार्ने धम्की आएको गत ३० असारमा संसद्मै बताएका थिए। उनले आफूलाई धम्की दिने व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनलाई लक्षित गर्दै अपमानजनक टिप्पणी हुने गरेको छ।
यस्तो धम्की र अपमानजनक टिप्पणी प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई मात्रै हुने गरेको छैन। प्रधानमन्त्री वालेन्द्र शाह, उनका सरकारका मन्त्रीदेखि विपक्षी नेतासम्म सामाजिक सञ्जालमा लाञ्छना र टिप्पणीको सिकार बन्दै आएका छन्।
अपराधशास्त्री कृष्णकुमार तामाङ यसलाई समाजमा आपराधिक मानसिकता बढ्दै गएको अर्थमा टिप्पणी गर्छन्। ‘कसरी समाज यति धेरै नकरात्मकतातिर गयो ? यो अध्ययनको विषय हो तर समाजमा यस्तो मनोवृत्ति विकास हुनु राम्रो होइन,’ उनले भने।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेताहरूलाई जेन–जी विद्रोहअघि र पछि अपमानजनक टिप्पणी, गाली, धम्की र लाञ्छना लगाउने गरिएको थियो। भनिन्छ, उनीहरूमध्ये अधिकांश यतिबेला सत्तारुढ दल रास्वपामा छन्।
राजनीतिक असहमति र आलोचना लोकतन्त्रका स्वाभाविक पक्ष हुन्। तर आलोचनाको नाममा व्यक्तिको चरित्रहत्या, परिवारमाथि प्रहार र ज्यान तथा बलात्कारको धम्की दिनु गलत हो। पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक मतभेद व्यक्तिको चरित्र हत्यामा परिणत हुने क्रम बढेको छ। यसले आममानिसमात्रै होइन, सांसद पनि डर, त्रास र धम्कीको सिकार बनिरहेका छन्।