काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि राजेन्द्र साँखीले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्दै साँखीले पार्टीको निर्णय तहमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
बुढानीलकण्ठ–६ निवासी साँखीले युवालाई संगठनका गतिविधि र निर्वाचनका बेला मात्र परिचालन गर्ने प्रवृत्तिको अन्त्य गरी नीति निर्माण तथा नेतृत्वको जिम्मेवारीमा समेत अवसर दिनुपर्ने धारणा राखेका हुन्।
उनले पार्टीको भविष्य युवासँग जोडिएको अवस्थामा त्यसको दिशानिर्धारण गर्ने प्रक्रियामा पनि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको र युवाको अनुभवलाई सम्मान गर्दै उनीहरुको ऊर्जा, सोच र क्षमतालाई पार्टी नेतृत्वसँग जोड्नुपर्ने उनले बताएका छन्।
साँखीले महाधिवेशनमा युवाको सहभागिता नारामा सीमित नराखी व्यवहारमै प्रतिनिधित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र गुटगत राजनीतिभन्दा माथि उठेर पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
‘सबै अट्ने, देश सबैलाई जोड्ने कांग्रेस’को अवधारणालाई अघि बढाउँदै आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको साँखीले बताएका छन्। उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदा कांग्रेसलाई समयअनुकूल र गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेका छन्।
१५औँ महाधिवेशनलाई युवा सहभागिता, जिम्मेवार नेतृत्व र नयाँ सोचलाई संस्थागत गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने साँखीको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘यो मेरो लागि केवल एउटा जिम्मेवारी वा पद होइन, आफ्नो पार्टीप्रतिको विश्वास, विचार र जिम्मेवारीलाई अझ गहिरो रूपमा आत्मसात् गर्ने अवसर हो। पार्टीभित्र देखिएका कमजोरीहरूलाई सुधार्दै, संगठनलाई अझ बलियो बनाउँदै र नयाँ पुस्ताको आवाजलाई सम्मान गर्दै अघि बढ्ने मेरो प्रतिबद्धता छ। म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यकर्ता, संगठन र पार्टीको हितलाई प्राथमिकतामा राख्नेछु। साथीहरूको सुझाव सुन्नेछु, आलोचनालाई स्वीकार गर्नेछु र आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नेछु। परिवर्तन केवल भाषणबाट होइन, हाम्रो व्यवहार र कामबाट सुरु हुन्छ।’
उनले अब नेपाली कांग्रेस नयाँ युगको सुरुवातमा रहेको बताउँदै कांग्रेस २.० ले पुरानो विरासतलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए । त्यस्तै उनी आफू पनि नयाँ सोचलाई प्राथमिकता दिँदै संगठनलाई अझ बलियो बनाउने संकल्प लिएको समेत बताए ।
साथै अबको यात्रा सुधार, संगठन सुदृढीकरण र जिम्मेवार नेतृत्वतर्फ अघि बढ्नुपर्ने बताउँदै कांग्रेस २.० नयाँ सोच, उर्जा र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने पनि साँखीले बताए ।