काठमाडौं - नेपाल सुनचाँदी कला व्यवसायी संघको २४औँ वार्षिक साधारण सभा तथा १०औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।आइतबार काठमाडौंमा १०औँ अधिवेशनबाट संघको अध्यक्ष पदमा बालकुमार विश्वकर्मा निर्वाचित भएका छन्।
“सशक्त नेतृत्व, समृद्ध व्यवसाय” भन्ने नारासहित चुनावी अभियान अघि बढाएका उनले संघको संस्थागत विकास, व्यवसायीहरूको हकहित संरक्षण र सुनचाँदी व्यवसायलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।सशक्त नेतृत्व, समृद्ध व्यवसाय र सुदृढ संगठन निर्माण आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै व्यवसायीहरूको साथ र समर्थनबाट संघलाई अझ प्रभावकारी रूपमा अघि बढाउने उनले बताए ऽ
आयोजित कार्यक्रम संघका अध्यक्ष धनश्याम रिजालको सभाध्यक्षतामा तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा संघमा आबद्ध सुनचाँदी व्यवसायी, कालीगढ तथा काठमाडौं जिल्लाका विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने महासंघका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
अधिवेशनमा संघको सांगठनिक गतिविधि, व्यवसायिक चुनौती, सुनचाँदी कला तथा आभूषण क्षेत्रमा दक्ष जनशक्ति विकास, व्यवसायको संरक्षण र प्रवर्द्धनलगायत विषयमा छलफल भएको बताइएको छ। साथै व्यवसायीहरूको हकहित संरक्षण, सीपमूलक तालिम विस्तार तथा परम्परागत सुनचाँदी कला व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने विषयमा समेत जोड दिइएको थियो।
निर्वाचनबाट अध्यक्षमा निर्वाचित बालकुमार विश्वकर्मासहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। महासंघले नवनिर्वाचित नेतृत्वले व्यवसायीहरूको हकहित, पेशागत मर्यादा र सुनचाँदी कला व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।