- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन रोक्न उच्च अदालत पाटनले अस्विकार गरेसँगै आइतबार संघको निर्वाचन हुने पक्का भएको हो
- संघको अध्यक्षमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा आवद्ध आधा दर्जन व्यवसायी आकंक्षी देखिएका छन्
- नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले स्वतन्त्र रुपमा उम्मेद्वारी दिने भएका छन्
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायीले भने उम्मेद्वारी दिन इच्छुकलाई फारम भर्न लगाएर उनीहरुको अनुभव, क्षमता र दक्षताको मूल्याङ्कन गरेर निष्पक्ष हिसाबले उम्मेदवार छनौट गर्ने जनाएको छ
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन रोक्न उच्च अदालत पाटनले अस्विकार गरेको छ । संघको निर्वाचन तथा साधारणसभा रोक्न निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटनले बिहीवार अन्तरिम आदेश नदिने फैसला गरेको हो ।
योसँगै आइतबार संघको निर्वाचन हुने पक्का भएको छ । संघ वादी रहेको उक्त रिटमा जिल्ला प्रशासन कार्यालय, बबरमहल र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ प्रबन्ध समितिलाई प्रतिवादी बनाइएको थियो । उक्त रिट न्यायाशीश शिवबहादुर रानाभाटको इजलासमा छलफल भएको थियो । अदालतले अन्तरिम आदेश नदिएसँगै प्रबन्ध समितिले अगाडि बढाएको निर्वाचन केन्द्रित गतिविधि विधानसम्मत ठहर भएको छ ।
अब नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन पनि निर्वाचनमा जाने भएको छ । गुरुङ नेतृत्वको कार्यसमिति विघटन भएपछि निर्वाचन नहुने दाबी गर्दै आएको एसोसिएसन अदालतको फैसलासँगै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन तयार भएको हो । निवर्तमान अध्यक्ष गुरुङ एसोसिएसनका तर्फबाट उम्मेद्वार थिए ।
बिहीबार एसोसिएसनका अध्यक्ष दिपक थापाले निर्वाचनमा सहभागिता सुनिश्चित गर्न आवश्यक प्रक्रिया पुरा गर्न आह्वान गरेका छन् । भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ गते कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए । संघको विधानको दफा २६को उपदफा(४)को व्यवस्था बमोजिम तत्कालीन कार्यसमिति स्वतः विघटन भएर निर्वाचन गराउन प्रबन्ध समिति गठन भएको थियो ।

नजर नेतृत्वतिरै
संघको अध्यक्षमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालमा आवद्ध व्यवसायीहरु आकंक्षी देखिएका छन् । एसोसिएसनबाट संघका निवर्तमान द्वितिय उपाध्यक्ष देवकुमार खोखाली, पूर्व महासचिव मेघनाथ भुर्तेल र संघका निवर्तमान सल्लाहकार नवराज केसी अध्यक्षका दाबेदार हुन् । यता प्रगतिशील मञ्चबाट वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्री कुमार, संघका निवर्तमान तृतिय उपाध्यक्ष वैकुण्ठ वैभव, महासचिव मिलन कट्टेल र मुक्तिनाथ अधिकारीको दाबेदारी छ । लोकतान्त्रिक एसोसिएनबाट प्रज्ञान न्यौपानले पनि नेतृत्वमा दाबी गरेका छन् ।
अध्यक्षका आकांक्षीले आफ्नो योगदान, क्षमता र एजेन्डा हेरेर आफूलाई टिकट दिनपर्ने दाबी गरेका छन् । एसोसिएसनका तर्फबाट संघका निवर्तमान द्वितिय उपाध्याक्ष खोखाली आफू निडर र व्यवसायीको हितमा अहोरात्र खट्न सक्ने उम्मेद्वार भएकाले आफू नै योग्य भएको बताउँछन् । संघमा रहँदा आफूलाई दिइएको जिम्मेवारी कुनै दबाव र प्रभावमा नपरी निभाएको उनको भनाइ छ । ‘संघको उपाध्यक्ष हँुदा मलेसिया सिन्डिकेटविरुद्ध निर्भिक भएर संयोजकको दायित्व पुरा गरें । विभागीय संयोजकको हिसाबले वैदेशिक रोजगार विभागलाई गुण्डारहित बनाएँ,’ खोखालीले भने, ‘पहिला विभागमा छिर्दा डराउनपर्ने अवस्था थियो भने अहिले जोसुकैलाई सुरक्षित महसुस हुन्छ ।’
पूर्व महासचिव मेघनाथ भूर्तेल पनि आफू जिम्मेवारीमा हुँदा उदाहरणीय काम गरेको स्मरण गर्छन् । अहिले व्यवसायीको कुरा सुन्ने सरकारमार्फत विगतका अधुरा समस्या समाधान गराउन आफू योग्य र अनुभवी भएको उनको दाबी छ । ‘संघमा अघिल्लो पटक महासचिवको भूमिका राम्ररी निभाएर संघको भवन स्थापना गरेर निस्किएको हो । त्यसको अगाडिको अधुरो भवन टुङ्ग्याउन बाँकी छ,’ भुर्तेलले भने, ‘यो विषम परिस्थितिमा व्यवसायीले व्यवसाय गर्ने अवस्था छैन । अहिले सरकार स्थिर छ । व्यवसायिक र श्रमिकको समस्या हल गर्न सकिन्छ भन्ने आत्मविश्वास र अनुभव मसँग छ ।’
संघको निवर्तमान सल्लाहकार केसी सर्वसम्मत आफूलाई नेतृत्व दिएमात्र उम्मेद्वारी दिने तयारीमा छन् । यता प्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष खत्री वैदेशिक रोजगार क्षेत्रको धमिलो छविलाई सङ्ल्याएर यो पेशालाई पुस्तान्तरण गर्न योग्य बनाउने सपना पुरा गर्न संघको नेतृत्व सम्हाल्न चाहेको बताउँछन् । जो निर्वाचित भएपनि संघको नेतृत्वमा उपयुक्त व्यक्ति चुनियोस् भन्ने चाहना आफ्नो भएको खत्रीले सुनाए । ‘हामी २०औं वर्ष यो क्षेत्रमा लगानी गछौँ तर पुस्तान्तरण गर्न सकेका छैनौं । मैले गरेको लगानी मेरो छोरालै क्यारी गर्न सक्ने अवस्था बन्नपर्छ,’ खत्रीले भने, ‘यो क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने हो भने फिलिपिन्सका एजेन्सी जस्तै हामी पनि स्थापित हुन सक्छौँ । यो व्यवसायलाई मर्यादित बनाउने मेरो सपना नै छ ।’
प्रगतिशीलबाट निवर्तमान तृतीय उपाध्यक्ष वैभवले आफूले संघको साउदी संयोजकका रुपमा काम गरिरहँदा व्यवसायीका धेरै समस्या समाधानमा अहम भूमिका खेलेकाले आफू उम्मेद्वार बन्न योग्य रहेको दाबी गर्दै आएका छन् । त्यस्तै मञ्चका महासचिव मिलन कट्टेलले पनि आफू युवा भएकाले पुस्तान्तरण हुनुपर्ने भन्दै अध्यक्षको दाबी गरेका छन् । मञ्चका अर्का आकांक्षी अधिकारीले भने संस्थाले आफूलाई योग्य ठानेको अवस्थामा नेतृत्वदायी भूमिका सम्हाल्न तयार रहेको बताए । ‘संस्थाले मलाइ योग्य ठानेछ भने म पनि त्यसको लागि तयार छु । तर बाधक भने होइन,’ अधिकारीले भने ।
आसन्न निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले भने स्वतन्त्र रुपमा उम्मेद्वारी दिने भएका छन् । विगत दुई वर्षदेखि आफू राजनीतिक दलका संस्था त्यागेर व्यवसायीको हक, हित र सामाजिक कार्यमा मात्र लागिरहेको पाण्डेको दाबी छ । ‘म स्वतन्त्र हुँ । संघको उपाध्यक्ष हुँदा समस्या समाधान समितिको संयोजक भएर काम गरेको, संघको सदस्य, निवर्तमान सल्लाहकार तथा एकता समितिको अध्यक्ष भएर काम गरेको अनुभव छ । व्यवसायीको हकहितको लागि बोल्न सक्ने, लड्न सक्ने साझा उम्मेद्वार मै हुँ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायीले भने उम्मेद्वारी दिन इच्छुकलाई फारम भर्न लगाएर उनीहरुको अनुभव, क्षमता र दक्षताको मूल्याङ्कन गरेर निष्पक्ष हिसाबले उम्मेदवार छनोट गर्ने जनाएको छ । विगतमा चुनावी तालमेल गर्दै आएको नेकपा निकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च भने यसपटक कसरी अघि बढ्ने भन्ने छलफलमा जुटेको छ । संघको २१ सदस्सीय कार्यसमितिमा सात जना पदाधिकारी र १० जना सदस्य निर्वाचित हुने र चार जना मनोनित हुने प्रावधान छ ।