पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्वको शैली र आन्तरिक लोकतन्त्र कमजोर भएकाले अब नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको हो ।
दमन बस्नेत
राणापक्षीय नेता
- महामन्त्री डा. धवलशमशेर राणाले नयाँ दल बनाउने
- पूर्वअध्यक्षहरूलाई दलमा नसमेट्ने
- जनमत भएका र संगठन बनाउन सक्ने नेताहरूलाई गठन गरिने नयाँ दलमा समेट्ने तयारी
- रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई समावेश गर्ने चर्चा
- अध्यक्ष राजेन्द्र लिङ्देनसँगको झण्डै तीन वर्षदेखिको मतभेदपछि नयाँ दल खोल्ने पक्षमा राणा पक्ष
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र लामो समयदेखि चुलिँदै आएको आन्तरिक असन्तुष्टि निर्णायक मोडमा पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली, निर्णय प्रक्रिया र पार्टी संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशमशेर राणा पक्ष पार्टीबाट अलग भएर नयाँ राजनीतिक दल गठन गर्ने अन्तिम तयारीमा पुगेको हो ।
उहाँ (राणा) पार्टीको महत्वपूर्ण र जिम्मेवार नेता हुनुहुन्छ । आन्तरिक असन्तुष्टि संवादमार्फत समाधान गर्न सकिन्छ । पार्टीलाई वैकल्पिक राष्ट्रवादी शक्ति बनाउने प्रयास भइरहेको समयमा विभाजन उपयुक्त बाटो हुँदैन ।
मोहन श्रेष्ठ
प्रवक्ता
गठन गरिने नयाँ दलमा पार्टीका अभिभावकीय नेताहरू नहुने राणानिकट एक जना पूर्वपदाधिकारीले बताए । ‘पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा, कमल थापा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी कोही पनि हामीसँग हुने छैनन्, हामी जनमत भएका र संगठन निर्माणमा जुझारु हुने नेताहरू मात्रै समेट्छौं,’ उनले प्रभावसँग भने ।
पार्टीभित्र अध्यक्ष लिङ्देनसँग राणा पक्षको शक्ति संघर्ष, विवाद र वैचारिक तथा संगठनात्मक असमझदारी भएको तीन वर्षदेखि हो । २०७८ सालमा भएको पार्टी महाधिवेशनमा लिङ्देनलाई पूरापूर समर्थन गर्ने नेता राणा नै थिए । तर, समयक्रममा अध्यक्ष लिङ्देन र महामन्त्री राणाको सम्बन्ध सुमधुर हुन सकेन ।
गिजामा भएको क्यान्सरको उपचारका लागि दिल्ली जाँदा राणाको संगठन विभाग प्रमुख पद लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई दिए । १५ चैत २०८१ मा भएको राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक बन्दा राणासहित तत्कालीन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परे पनि लिङ्देनले रिहाको कुनै पहल गरेनन् । बरु, राणापक्षीय १० जनाभन्दा बढी नेताहरूलाई कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाए । यी घटनाक्रमले पनि लिङ्देन र राणा पक्षबीचको सम्बन्ध कटुतापूर्ण बनाउन मद्दत ग¥यो । पछिल्ला पार्टी बैठकहरूमा दुई पक्षबाट नोकझोकै चल्थ्यो । यस्तोमा राप्रपा विभाजनको डिलमा पुगेको हो । यसका लागि राणा पक्षले सोमबार काठमाडौंको एल्लो प्यागोडामा निकट नेताहरूको विशेष भेला बोलाएको छ, जसलाई नयाँ दल गठनको औपचारिक आधार बनाउने तयारी गरिएको राणापक्षीय ती पूर्वपदाधिकारीले बताए ।
उनी भन्छन्, ‘शुक्रबार पार्टी स्थापना दिवसमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री राजेन्द्र गुरुङमात्रै सहभागी थिए । त्यहाँ पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, कमल थापा र प्रकाशचन्द्र लोहनी थिएनन् । उपाध्यक्ष विक्रम पाण्डे, दिलविकास राजभण्डारीलगायत छ उपाध्यक्ष, महामन्त्रीहरू डा. धवलशमशेर जबरा, प्रल्हाद शाह, कुन्तिकुमारी शाहीलगायत थुप्रै पदाधिकारी थिएनन् । त्यो पार्टी विभाजनको सूचक थियो ।’
ती नेताका अनुसार पछिल्लो समय राप्रपाभित्र अध्यक्ष लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि सार्वजनिकरूपमा पनि देखिन थालेको थियो । विशेषगरी निर्णय प्रक्रियामा एक्लौटीपन, महाधिवेशन गर्न नचाहेको, संगठनात्मक संरचनालाई कमजोर बनाइएको आरोप र पार्टीभित्र आन्तरिक छलफलको अवसर सीमित गरिएको गुनासो राणा पक्षले उठाउँदै आएको थियो ।
महामन्त्री राणानिकट नेताहरूका अनुसार २१ फागुनको निर्वाचनपछि पार्टीभित्र संवादको वातावरण कमजोर हुँदै गएको छ । नीति निर्माणदेखि संगठन विस्तारसम्मका महत्वपूर्ण निर्णयहरूमा आफूहरूलाई बेवास्ता गरिएको अनुभूति बढ्दै गएको राणापक्षीय नेता दमन बस्नेतले बताए ।
यसै असन्तुष्टिको पृष्ठभूमिमा नयाँ राजनीतिक दलको विकल्पबारे राणापक्षबीच संवाद हुँदै आएको उनी बताउँछन् । उनका अनुसार उक्त भेलाले पार्टीबाट सामूहिक रूपमा अलग हुने औपचारिक निर्णय हुने सम्भावना छ । राप्रपा अब संस्थागतरूपमा सही दिशामा अघि नबढेको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने निर्णयतर्फ समूह अघि बढेको हो । बस्नेतले भने, ‘पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्वको शैली र आन्तरिक लोकतन्त्र कमजोर भएकाले अब नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको हो ।’
प्रारम्भिक चरणमै करिब १०० जना नेताले एकैपटक पार्टी परित्याग गर्ने तयारी राप्रपाभित्र भइरहेको छ । यसले राप्रपाको संगठनात्मक संरचनामा ठूलो असर पार्ने अनुमान गरिएको छ । नयाँ बन्ने दलको स्वरूप, नाम र नेतृत्व संरचनाबारे समेत प्रारम्भिक छलफल सुरु भइसकेको छ । ‘राष्ट्रवादी वैकल्पिक शक्ति’ का रूपमा नयाँ दल गठन गर्ने भएको हो । देशमा राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्र पुनःस्थापना गठन गरिने नयाँ दलको कार्यनीति हुने भएको छ ।
दलको अध्यक्ष धवलशमशेरलाई बनाउने प्रारम्भिक समझदारी बनेको नेता बस्नेतले बताए । व्यवसायी दुर्गा प्रसाईंलाई ‘सर्वोेच्च कमाण्डर’का रूपमा अगाडि सार्ने विषयमासमेत छलफल भएको बताइएको छ । यद्यपि, प्रसाईंसँगको सहमति र भूमिकाबारे अन्तिम निर्णय भने भइसकेको छैन । यदि प्रसाईंको सहभागिता सुनिश्चित नभएमा राणा स्वयंको नेतृत्वमा दल अघि बढाउने विकल्प पनि खुला राखिएको स्रोतहरूको भनाइ छ ।
नयाँ दलमा पूर्वमन्त्री दिलनाथ गिरी, दिलविकास राजभण्डारी, सगुन लावती, नारायण कोइरालालगायतका नेताहरू सक्रियरूपमा सहभागी हुने तयारीमा रहेको दाबी गरिएको छ । पार्टीबाट अलग भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, शरदराज पाठकलगायतलाई पनि समेट्ने तयारी भएको छ ।
पार्टी विभाजन रोक्नका लागि वरिष्ठ नेताहरूले पछिल्ला दिनमा लगातार छलफल र मध्यस्थताको प्रयास गरेका थिए । विशेषगरी पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र अन्य वरिष्ठ नेताहरूले राणालाई पार्टीभित्रै समाधान खोज्न आग्रह गरेका थिए । अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र अन्य नेताहरूको उपस्थितिमासमेत आन्तरिक छलफल भएको थियो । उक्त छलफलमा पार्टी एकताबद्ध राख्ने, आगामी महाधिवेशनमार्फत समस्या समाधान गर्ने प्रस्तावहरू राखिएको बताइएको छ । तर, राणा पक्षले पार्टी नेतृत्वले विधानअनुसार काम गर्न नसकेको, महाधिवेशनलाई समेत टार्ने मनसाय देखिएको तथा आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै उक्त प्रस्ताव अस्वीकार गरेको स्रोतहरूको भनाइ छ ।
पार्टीभित्र विभाजनको चर्चा तीव्र भइरहेका बेला पूर्वअध्यक्ष कमल थापाले सार्वजनिकरूपमा एकता कायम राख्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्र समस्या भए पनि समाधान पार्टीभित्रै खोज्न सकिने उल्लेख गरेका छन् । थापाले आगामी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र दिशा दिने विश्वास व्यक्त गर्दै नेताहरूलाई विभाजनको बाटो नअपनाउन आग्रह गरेका छन् । उनले सबै समूहलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
यसैबीच राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राणा पार्टीका महत्वपूर्ण र जिम्मेवार नेता भएको उल्लेख गर्दै आन्तरिक असन्तुष्टि संवादमार्फत समाधान हुने अपेक्षा व्यक्त गरेका छन् । उनले पार्टीलाई वैकल्पिक राष्ट्रवादी शक्ति बनाउने प्रयास भइरहेको समयमा विभाजन उपयुक्त बाटो नहुने धारणा राखेका छन् ।
नेपालको राजनीतिक इतिहासमा राप्रपा बारम्बार विभाजन र एकताको चक्रमा गुज्रिँदै आएको दलका रूपमा चिनिन्छ । पूर्वपञ्चहरूको राजनीतिक संगठनका रूपमा स्थापना भएको यो पार्टी २०४६ सालपछि विभिन्न गुट र समूहमा विभाजित हुँदै पुनः एकीकृत हुँदै आएको इतिहास छ । २०४७ सालमै नेतृत्व विवादका कारण एकै दिन दुई राप्रपा गठन भएको घटनादेखि लिएर पछिल्ला दशकसम्म दर्जनौं पटक फुट र जुटका घटनाहरू दोहोरिएका छन् ।