एपी- उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।
भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने पूर्वानुमान गरेको छ। अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने व्यवस्था गरिएको छ ।
मौसम विभागले आगामी दिनहरूमा उत्तरी क्षेत्रका धेरै स्थानमा तापक्रम मौसमी औसतभन्दा अझै माथि रहने चेतावनी दिएको छ । अधिकारीहरूले विशेषगरी दिउँसोको अत्यधिक गर्मीमा घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन र गर्मीजन्य स्वास्थ्य समस्या रोक्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा मैदानी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) वा सोभन्दा बढी पुगेको अवस्थालाई गर्मीको लहर (हीटवेभ) घोषणा गरिन्छ ।
भीषण गर्मीले विशेषगरी उत्तर प्रदेशसहित उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन ठप्प जस्तै बनाएको छ । दिउँसोको समयमा सडक र बजारहरू बन्दजस्तै भएका छन् भने मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । दिउँसोको तापक्रम असहनीय बनेसँगै केही व्यापारीहरूले कामको समय बिहानतर्फ सार्न थालेका छन् भने किसानहरूले पनि खेतमा काम गर्ने समय राति सार्न थालेका छन् ।
शिक्षा क्षेत्रमा पनि गर्मीको असर गहिरो देखिएको छ । विभिन्न स्थानका अधिकारीहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन् र कक्षाहरू स्थगित गरिएको छ । यसैबीच, मङ्गलबार बान्दा सहरमा अधिकतम तापक्रम ४८.२ डिग्री सेल्सियस (११८.८ फरेनहाइट) पुगेको थियो । यो यस वर्षको अत्यधिक उच्च रेकर्डमध्ये एक हो । स्वास्थ्य अधिकारीहरूले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन र चक्कर लाग्ने, अत्यधिक थकान वा उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिन सुझाव दिएका छन् ।
राजधानी नयाँदिल्लीमा समेत राहतका उपायस्वरूप विभिन्न स्थानमा शीतलन आश्रय (कुलिङ शेल्टर) स्थापना गरिएको छ । यी स्थानहरूमा एयर कुलर, पङ्खा, पिउने पानी र मौखिक पुनर्जलीकरण झोल (ओआरएस) उपलब्ध गराइएको छ, जसले नागरिक र पर्यटकलाई केही राहत दिएको छ । बुधबार एउटा शीतलन टेन्टभित्र मानिसहरू एयर कुलरको छेउमा बस्दै गर्मीबाट राहत लिइरहेका देखिएका थिए । त्यहाँ अधिकारीहरूले नुन मिसाइएको पानी वितरण गरिरहेका थिए ।
त्यहाँ आएका २५ वर्षीय पर्यटक बशारत अहमद मल्लाले आफ्नो अनुभव सुनाउँदै अत्यधिक गर्मीका कारण बाहिर घुम्न गाह्रो भएको बताए । उनका अनुसार शीतलन केन्द्रले केही समयका लागि भए पनि सहजता प्रदान गरेको छ । जलवायु विज्ञहरूका अनुसार भारतमा देखिएको यो बढ्दो तापक्रम केवल मौसमी अवस्था मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । पछिल्ला वर्षहरूमा भारतले बारम्बार अत्यधिक गर्मीका लहरहरूको सामना गर्दै आएको छ र पछिल्लो दशक देशकै सबैभन्दा तातो दशकमध्ये एक रहेको तथ्यांकले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनसँग सम्बन्धित तथा पुणेस्थित फ्लेम विश्वविद्यालयका सार्वजनिक नीति प्राध्यापक अञ्जल प्रकाशका अनुसार मानव-सिर्जित जलवायु परिवर्तनका कारण भारतको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ । उहाँका अनुसार उत्तरपश्चिम भारत अन्य क्षेत्रको तुलनामा अझ तीव्र रूपमा तातिरहेको छ ।
उनले भारत गर्मीको मौसमसँग केही हदसम्म अभ्यस्त भए पनि जलवायु परिवर्तनले चरम र व्यापक स्तरका गर्मीका घटनाहरूलाई अझ तीव्र बनाइरहेको बताए ।जनस्वास्थ्य क्षेत्रका अध्ययनहरूले सन् २००८ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत एक हजार ११६ जनाको मृत्यु गर्मीका कारण भएको देखाएको छ । तर विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान छ । धेरै अवस्थामा मृत्यु प्रमाणपत्रमा गर्मीलाई प्रत्यक्ष कारणका रूपमा उल्लेख नगरेका कारण वास्तविक तथ्यांक आधिकारिक रूपमा कम देखिने गरेको छ ।