एएफपी- हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन् । बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, विनाशकारी बाढी तथा लामो समयसम्मको खडेरीका घटनाहरू लगातार बढिरहेका छन् । विज्ञहरूका अनुसार मौसमसम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका छन् ।
सन् १८८४ देखि तापक्रमको अभिलेख राख्न सुरु भएयता बेलायतका सबैभन्दा तातो पाँच वर्षमध्ये पछिल्ला पाँचमध्ये चार वर्ष परेका छन् । त्यस्तै, अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएका १० वर्ष सबै पछिल्ला दुई दशकभित्रका मात्र रहेका छन् । यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा बढिरहेको स्पष्ट संकेत दिएको वैज्ञानिकहरूले बताएका छन् ।
बेलायत सरकारलाई जलवायु नीति सम्बन्धी सुझाव दिने जलवायु परिवर्तन समितिले आफ्नो चौथो प्रतिवेदनमा केवल तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास मात्र पर्याप्त नहुने जनाएको छ । समितिका अनुसार अब बेलायतले जलवायु परिवर्तनका प्रत्यक्ष असरहरूको सामना गर्न पूर्वतयारीलाई पनि उच्च प्राथमिकता दिए।
सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा विश्वका देशहरूले पृथ्वीको तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने तथा सम्भव भएसम्म १ दशमलव ५ डिग्रीभित्र राख्ने प्रतिबद्धता जनाएका थिए । तर वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण बढिरहेको हरितगृह ग्यास उत्सर्जनले यो लक्ष्य हासिल गर्न झन् कठिन बनाइरहेको छ ।
समितिले प्रतिवेदनमार्फत कामदारहरूको सुरक्षाका लागि कार्यस्थलमा अधिकतम तापक्रम सीमा निर्धारण गर्न सरकारलाई सुझाव दिएको छ । अत्यधिक गर्मीका कारण कामदारहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले कानुनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी, अत्यधिक गर्मीबाट जोगिन चिस्यान दिने उपकरणहरूको विस्तार गर्न, घर तथा कार्यालयहरूमा ताप नियन्त्रण प्रणाली जडान गर्न, बाढी नियन्त्रणका लागि तटबन्ध तथा सुरक्षा संरचना निर्माण गर्न र पानीको अभाव रोक्न नयाँ जलाशय निर्माणमा लगानी बढाउन सुझाव दिइएको छ ।
हाल बेलायतमा कार्यस्थलभित्र अधिकतम तापक्रमसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था छैन । समितिले स्पेनको उदाहरण दिँदै त्यहाँ कार्यालयभित्रको तापक्रम २७ डिग्री सेल्सियसभन्दा बढी हुन नपाउने कानुनी प्रावधान रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनले जलवायु संकटसँग जुध्न सरकारलाई अझ बढी महत्वाकांक्षी नीति लिन आग्रह गरेको छ । समितिका अनुसार आवश्यक पूर्वाधार निर्माण, बाढी नियन्त्रण, पानी व्यवस्थापन तथा ताप नियन्त्रण प्रणाली विस्तारका लागि सार्वजनिक र निजी क्षेत्रबाट वार्षिक करिब ११ अर्ब पाउन्ड बराबरको लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
बेलायतले सन् १९९० को तुलनामा सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जन कम्तीमा ८१ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । साथै, यो शताब्दीको मध्यसम्ममा पूर्ण रूपमा कार्बन तटस्थ राष्ट्र बन्ने उद्देश्य पनि तय गरिएको छ ।
विशेषज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए भविष्यमा अझ घातक गर्मी, ठूलो बाढी, खाद्य संकट तथा पानी अभावजस्ता समस्या बढ्न सक्ने चेतावनी दिएका छन् ।