काठमाडौं - नेपाली मार्केटिङ तथा सञ्चार एजेन्सी भी-चित्र प्रा. लि. ले १५औं ACEF Global Customer Engagement Awards 2026 मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जित्दै अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ।
भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा अप्रिल ३० मा आयोजित समारोहमा एशिया–प्रशान्त (APAC) क्षेत्रका उत्कृष्ट एजेन्सी र ब्रान्डहरूबीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई सम्मान गरिएको थियो।
काठमाडौंस्थित भी-चित्रले विश्वप्रसिद्ध डिजिटल प्लेटफर्म टिकटकसँगको सहकार्यमा सञ्चालन गरेको ‘टिकटक फ्यामिली पेरिंग’ अभियानमार्फत ‘बेस्ट इन्टीग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको हो।
कम्पनीका अनुसार नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढेको चिन्तालाई सम्बोधन गर्दै अभियान सञ्चालन गरिएको थियो। अभियानमार्फत अभिभावकीय नियन्त्रण सुविधा (Parental Control Feature) लाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका सञ्चारमाध्यममार्फत प्रवर्द्धन गरिएको थियो।
भी-चित्रका अनुसार उक्त अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गरेको थियो। यसैगरी, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रममार्फत एजेन्सीले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार प्राप्त गरेको जनाएको छ।
यी सबै उपलब्धिसहित भी-चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जितेको हो, जुन उक्त अवार्डअन्तर्गत जनसम्पर्क क्षेत्रकै सबैभन्दा ठूलो सम्मान मानिन्छ। कम्पनीले यस सफलताले नेपाली एजेन्सीहरू क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा मात्र होइन, नेतृत्व गर्नसमेत सक्षम रहेको सन्देश दिएको जनाएको छ। अभियानको सफलतामा भी-चित्रको सहायक कम्पनी मिडियाम्यान को पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।