काठमाडौं- देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध तथा नियन्त्रित लागूऔषधसहित २३ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई साेमबार चितवन, कैलाली, झापा, सुनसरी, बाँके, उदयपुर, तनहुँ, बर्दिया र धनकुटामा छुट्टाछुट्टै कारबाहीका क्रममा नियन्त्रणमा नेपाल प्रहरीले लिएको हो।
चितवनको भरतपुर महानगरपालिका-११ कमलादेवीमाई टोलबाट करिब २०० ग्राम गाँजासहित ३७ वर्षीय अन्सु श्रेष्ठ पक्राउ परेका छन्। यस्तै सोही महानगरपालिका-१५ शान्ति चोकबाट ५ ग्राम २६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, डिजिटल तराजु र नगदसहित ३२ वर्षीय रूपेश लामा पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-८ क्षेत्रबाट ६०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित ३ जनालाई पक्राउ गरिएको छ भने झापाका विभिन्न स्थानबाट ब्राउनसुगर र खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।सुनसरीमा २२० मिलिग्राम ब्राउनसुगरसहित २ जना तथा धरानबाट ट्रामाडोल र अन्य ट्याब्लेटसहित १ जना पक्राउ परेका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ बाट २ जना, उदयपुरमा ट्रामाडोल र डाइक्लोमाइनसहित ३ जना, तनहुँमा इन्जेक्सन लागूऔषधसहित १ जना पक्राउ परेका छन्।
त्यस्तै बर्दियामा २ जना र धनकुटामा २ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनकुटामा भने कोठा तलासीका क्रममा लागूऔषध फेला परेको र एक जना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।