काठमाडौं- नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली नौ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका छन् ।
नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुखसमेत रहेका नापी अधिकृत वलीलाई छुट जग्गा दर्ता सिफारिसको मिसिल कार्य अगाडि बढाउने बहानामा सेवाग्राहीसँग नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
आयोगका अनुसार अधिकृत वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुसरिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरी परेको थियो ।
उक्त सूचना र उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले अनुगमन गर्दा वलीले नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको टोखा नगरपालिका-०५ स्थित बसुन्धरा चोकको एक रेस्टुरेण्टबाट बुधबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका नापी अधिकृत वलीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउन बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।