
मकवानपुर— आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६÷०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा रु पाँच अर्ब ८२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा घोषणा गरिएको लकडाउनका कारण लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा गत आर्थिक वर्षमा करिब १० प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा चार अर्ब २२ करोड ४३ लाख राजस्व सङ्कलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी हरेराम ढकालले गत आर्थिक वर्षमा सङ्कलित रकममध्ये अन्तःशुल्ककरतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख, मूल्यअभिवृद्धिकरतर्फ रु एक अर्ब दुई करोड १५ लाख र आयकरतर्फ रु ८९ करोड ६० लाख राजस्व संकलन भएको जानकारी दिए ।