काठमाडाैं - पर्यटनसँग सामाजिक उत्तरदायित्व जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' (‘Wandering Trail Humanity-WTH)पदयात्रा सम्पन्न भएकाे छ । वाण्डरिङ ट्रेल एडभेन्चरस् सहकार्यमा पर्यटनलाई सामाजिक सेवासँग जोड्दै “वाण्डरिङ ट्रेल ह्युम्यानिटी ” अभियान अन्तर्गत दोस्रो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे हाे ।
वाण्डरिङ ट्रेल एडभेन्चरस्(Wandering Trail Adventures)का संस्थापक/निर्देशक रिकेश कोइराला र सिद्धार्थ वनस्थली इन्स्टिच्युटका कला प्रशिक्षक सुजन बुढाथोकीको नेतृत्वमा सञ्चालन भएकाे हाे । यस अभियानले यात्रालाई उद्देश्यपूर्ण बनाउने प्रयास गरिरहेको छ।
यसअघि सुरु गरिएको अभियानकै निरन्तरताका रूपमा दोस्रो चरणको कार्यक्रम गोरखाको सहिद लखन–३, करन्टारस्थित दुर्गम गुरुङ समुदायमा सम्पन्न भएको हो। कार्यक्रममा पदयात्रा (हाइकिङ) मार्फत दुर्गम क्षेत्रको अन्वेषण गर्नुका साथै त्यहाँका विपन्न बालबालिकाका लागि कला सीप कार्यशाला सञ्चालन गरिएको थियो।
अभियानले पर्यटनलाई केवल घुमफिरमा सीमित नराखी सामाजिक प्रभाव सिर्जना गर्ने माध्यमका रूपमा स्थापित गर्न खोजेको आयोजकहरूको भनाइ छ। विभिन्न साझेदार, स्वयंसेवक तथा सहयोगीहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले स्थानीय समुदायमा खुशी, नयाँ अनुभव र सकारात्मक परिवर्तन ल्याएको छ। अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।