काठमाडौं - काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ । सहकारी ठगी प्रकरणको मुद्दामा सभापति लामिछानेले वैशाख १४ गतेका लागि तारेख पाएका हुन् ।
लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।
रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन् ।