हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताए।
मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थपेर सेवा प्रवाहलाई सहज बनाइने बताए।
उनले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायत निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।
मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको बताए।