काठमाडौं- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुगेका छन्। उन आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आएका हुन्।
राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनी सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन्।
राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। त्यसयता उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
पछिल्लोपटक दलेलाले सन् २०२२ देखि सन् २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा कार्य गरेका थिए। राजदूत दलेलाले नयाँ दिल्लीमा पनि महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए। उनले सन् २००९ देखि सन् २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दै भारतका दक्षिण एसियाली छिमेकी मुलुकहरू, पूर्वी एसिया तथा हिन्द प्रशान्त क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको सम्बन्ध तथा सहकार्यसम्बन्धी विषय हेरेका थिए।
राजदूत दलेलाले संयुक्त राज्य अमेरिकामा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। नेपालका लागि भारतको राजदूत नियुक्त हुनुअघि उनले भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका थिए। उक्त जिम्मेवारीमा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेरेका थिए।
यसअघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किसकेका छन्।