काठमाडौं- शुक्रबार बिहानदेखि बालेन शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएसँगै पाँच मन्त्रालय गाभिने भएका छन् । एउटा मन्त्रीलाई दुईवटा जिम्मेवारी दिइएका मन्त्रालय गाभेर एउटै बनाउने तयारी भएककाे हाे ।
सार्वजनिक भएका नामहरुको साथमा महत्त्वपूर्ण मन्त्रालय जोडिएका छन् । विवरण हेर्दा अहिले पाँचवटा मन्त्रालय अरू मन्त्रालयमा गाभिनेछन् र एउटै मन्त्रीलाई ती दुईको जिम्मेवारी दिइनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सम्बद्ध स्रोतका अनुसार अहिले एउटा मन्त्रीको साथमा जोडिएका दुईवटा मन्त्रालयहरू अबको मन्त्रिपरिषद् निर्णयपछि आपसमा गाभिनेछन् ।
यी हुन् गाभिने मन्त्रालयहरु
राष्ट्रपति कार्यालयमा पठाइएको विवरण हेर्दा अहिले कम्तिमा पाँचवटा मन्त्रालयहरू अरू मन्त्रालयमा गाभिनेछन् । शहरी विकास, युवा, खानेपानी, भूमि व्यवस्था, वन तथा वातारण मन्त्रालय अरूमा गाभिनेछन् ।
प्रधानमन्त्रीले आफ्नो साथमा रक्षा र उद्योग मन्त्रालय राखेका छन् । कार्यप्रकृति हेर्दा यी दुई मन्त्रालय गाभिने सम्भावना देखिँदैन । मन्त्रीहरूलाई बाडिएको कार्यक्षेत्र हेर्दा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय एकठाँउ गाभिने देखिएको छ ।
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय पनि एकठाउँ गाभिएको छ । यसअघि ऊर्जा र अरू छुट्टाछुट्टै मन्त्रालय थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र युवा तथा खेलकुद मन्त्रालय पनि गाभिनेछन् । यसअघि ती दुई छुट्टाछुट्टै मन्त्रालय थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खानेपानी मन्त्रालय गाभ्ने योजना बनेको देखिन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय गाभेर एउटै बनाउने तयारी भएको छ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण विकास मन्त्रालय पनि अब गाभिनेछ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल सरकराको कार्यविभाजन नियमावली संशोधन गर्नेछ । र, त्यसका आधारमा मन्त्रालयहरू गाभिएको औपचारिक निर्णय हुनेछ ।