काठमाडौं- अन्तर्राष्ट्रिय आप्रावासन संगठन, आइओएम ( International Organization for Migration ,IOM) नेपालले जलवायु परिवर्तन अनुकूलन र आप्रवासन प्रवर्द्धनसम्बन्धी एक परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल सरकारसँगको सहकार्यमा “मानव सुरक्षा र लैङ्गिक समानतामा आधारित जलवायु परिवर्तन अनुकूलन र आप्रवासन प्रवर्द्धन” परियोजना आइओएम नेपालले सफलतापूर्वक सम्पन्न गरेको हाे।
उक्त परियोजना सन् २०२३ अक्टोबरदेखि २०२६ मार्चसम्म सञ्चालन भएको छ । उक्त योजनाले आप्रवासन, वातावरण र जलवायु परिवर्तनबीचको जटिल सम्बन्ध (MECC) सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। परियोजनाले संघीय तथा स्थानीय तहमा संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धान, तथ्यांक संकलन र समावेशी संवादलाई प्रवर्द्धन गरेको थियो।
समापन कार्यक्रममा सरकारी निकाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, सामुदायिक संस्था, निजी क्षेत्र तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परियोजनाका उपलब्धि, असल अभ्यास तथा आगामी रणनीतिबारे छलफल गरिएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले जलवायु परिवर्तनका कारण नेपालमा विस्थापन र आप्रवासन बढ्दै गएको उल्लेख गर्दै बहु-क्षेत्रीय समन्वय आवश्यक रहेको बताए। उनले नीति, अनुसन्धान र संवादमा आइओएमको योगदानको प्रशंसा गरे।
परियोजनाले नेपालमा पहिलोपटक MECC विषयमा तालिम सञ्चालन गर्नुका साथै स्थानीय तहमा जलवायु–आप्रवासन केन्द्रित अनुकूलन योजना कार्यान्वयनको सुरुवात गरेको छ। नेपाल सरकारको नेतृत्वमा “काठमाडौँ घोषणापत्र” तयार गरी अनुमोदन पनि गरिएको छ। यसले जलवायु र आप्रवासनसम्बन्धी चुनौती समाधान गर्ने प्रतिबद्धता उल्लेख छ ।
स्थानीय तहमा सुदूरपश्चिमको साँफेबगर नगरपालिका र कर्णालीको महाबु गाउँपालिकाले योजना कार्यान्वयनका लागि स्रोत विनियोजन सुरु गरिसकेका छन् भने संघीय स्तरमा विभिन्न मन्त्रालयहरूले कार्ययोजना तयार पारिरहेका छन्।
आइओएमनेपालकी प्रमुख हेलेन फोर्सले जलवायु–आप्रवासन व्यवस्थापन दीर्घकालीन विकास र मानव सुरक्षा सुनिश्चित गर्न अपरिहार्य रहेको बताइन्। उनले परियोजनाको सफलतामा सबै साझेदारहरूको योगदानको सराहना गरिन्।आइओएमले आगामी दिनमा पनि दक्षिण एशियामा जलवायु-आप्रवासनसम्बन्धी नयाँ क्षेत्रीय कार्यक्रममार्फत नेपाल सरकारलाई सहयोग जारी राख्ने जनाएको छ।