लुम्बिनी- यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका रुपमा उत्कृष्ट घोषित भएको छ । यसवर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्यांकनमा सुधार गर्दै ९० अंकसहित तेस्रोपटक नेपालमै प्रथम भएको हो ।
उक्त अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस)मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो । विगत दुइ वर्षदेखि यस अस्पतालले उत्कृष्टता हासिल गर्दै आएको छ ।
अस्पतालमा आयोजित सेवा मूल्यांकन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा प्रस्तुती गरिएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताए । उनले मूल्यांकन अंकमा मात्र नभइ जनताले पनि महसूस गर्ने गरी काम गर्न निर्देशन दिए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले सेवालाई थप विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मुल्यांकनमा प्राप्त नतिजा पर्याप्त नभएकाले थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे ।
अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको छ ।