समाजमा आत्महत्यासम्बन्धी धेरै भ्रमहरू पनि पाइन्छन् । कतिपय मानिसहरू आत्महत्याबारे कुरा गर्ने व्यक्तिले त्यस्तो कदम चाल्दैन भन्ने विश्वास गर्छन्, तर वास्तविकता भने फरक हुन्छ । धेरैजसो आत्महत्या गर्ने व्यक्तिहरूले पहिले नै त्यसबारे संकेत दिएका हुन्छन् वा कुरा गरेका हुन्छन् । त्यस्तै, आत्महत्याको सोच स्थायी हुँदैन; धेरै अवस्थामा यो क्षणिक हुन्छ र उचित सहयोग पाएमा व्यक्ति पुनः सामान्य जीवनतर्फ फर्कन सक्छ । आत्महत्याबारे खुलेर कुरा गर्दा जोखिम बढ्छ भन्ने धारणा पनि गलत हो, किनभने खुला संवादले व्यक्तिलाई राहत महसुस गराउँछ र सहयोग खोज्न प्रेरित गर्छ ।
मानसिक स्वास्थ्य आजको विश्वको महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखापरेको छ । जीवनशैलीमा आएको परिवर्तन, सामाजिक दबाब, आर्थिक समस्या, पारिवारिक तनाव तथा व्यक्तिगत असफलताजस्ता कारणले मानिसहरू मानसिक तनावको अवस्थामा पुग्ने सम्भावना बढ्दो छ । यस्ता परिस्थितिमा केही व्यक्तिहरू निराशा र हताशाको चरम अवस्थामा पुगेर आत्महत्याजस्तो दुःखद निर्णय लिन बाध्य हुने गरेका छन् । त्यसैले आत्महत्या रोकथाम तथा न्यूनीकरण आजको समाजका लागि अत्यन्त संवेदनशील र आवश्यक विषय बनेको छ ।
आत्महत्या भन्नाले व्यक्तिले आफ्नो जीवन अन्त्य गर्ने उद्देश्यले गरेको कार्यका कारण मृत्यु भएको अवस्थालाई जनाउँछ । त्यस्तै, आफ्नो जीवन अन्त्य गर्ने उद्देश्यले गरिएको तर मृत्यु नभई समाप्त भएको कार्यलाई आत्महत्याको प्रयास भनिन्छ । यससँग सम्बन्धित अर्को अवस्था आत्महानि हो, जसमा व्यक्तिले आफैंलाई चोट, पीडा वा हानि पुर्याउने कार्य गर्छ, तर त्यसको मुख्य उद्देश्य मृत्यु नै हुने आवश्यक हुँदैन । यी तीनै अवस्थाले व्यक्तिको मानसिक अवस्था र सामाजिक परिस्थितिलाई संकेत गर्छन् ।

नेपालमा आत्महत्याका घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दो क्रममा देखिएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार सन् २०१४ मा चार हजार ५०४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका थिए भने सन् २०१५ मा यो संख्या चार हजार ३३२ पुगेको थियो । सन् २०१६ मा चार हजार ८८०, सन् २०१७ मा पाँच हजार १२४, सन् २०१८ मा पाँच हजार ३१७, सन् २०१९ मा पाँच हजार ७१७ र सन् २०२० मा छ हजार २७१ जनाको मृत्यु आत्महत्याका कारण भएको तथ्यांकले देखाउँछ । यसैगरी सन् २०२१ मा यो संख्या झन् बढेर सात हजार १४१ पुगेको थियो भने सन् २०२२ मा केही घटेर छ हजार ७९२ मा सीमित भएको देखिन्छ । सन् २०१५ देखि २०२० सम्म आत्महत्याका घटनामा औसत ७.४ प्रतिशतका दरले वृद्धि भएको पाइन्छ भने सन् २०२१ मा यो वृद्धि करिब १४ प्रतिशत पुगेको थियो । यद्यपि, सन् २०२२ मा केही कमी आएको देखिए पनि समस्या अझै गम्भीर नै रहेको छ । दैनिक २१ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा प्रत्येक २५ सेकेण्डमा एक जनाले आत्महत्या गर्दछन् ।
तथ्यांकले देखाउँछ कि आत्महत्याका घटनामध्ये करिब ६५ प्रतिशत मानसिक समस्याका कारण हुने गरेका छन् । मानसिक, आर्थिक, प्रेममा असफलता, बेरोजगारी, पारिवारिक विवाद, मादकपदार्थको सेवनजस्ता कारणहरूले व्यक्तिलाई गहिरो मानसिक संकटमा पुर्याउन सक्छन् । यस्ता परिस्थितिमा व्यक्तिले आफूलाई असहाय, निराश र एक्लो महसुस गर्दा आत्महत्याको सोच आउन सक्छ ।
यस समस्यालाई न्यूनीकरण गर्न नेपालमा आत्महत्या रोकथाम हेल्पलाइन सेवा ११६६ सञ्चालनमा ल्याइएको छ । यस हेल्पलाइनमार्फत संकटमा परेका व्यक्तिहरूलाई तत्काल मनोसामाजिक परामर्श र सहयोग प्रदान गरिन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वमा सबैभन्दा धेरै आत्महत्याका घटना भारतमा हुने गरेको देखिएको छ । सन् २०२२ मा भारतमा दुई लाख २० हजारभन्दा बढी मानिसले आत्महत्या गरेका थिए, जसमध्ये करिब एक लाख ५८ हजार पुरुष रहेका छन् । प्रतिवेदनले दक्षिण तथा पूर्वी एसियालाई आत्महत्याको उच्च दर भएको क्षेत्रका रूपमा उल्लेख गरेको छ । विश्वभर हुने कूल आत्महत्यामध्ये करिब ३९ प्रतिशत घटना यही क्षेत्रका निम्न तथा मध्यम आय भएका देशहरूमा हुने गरेको पाइन्छ । विशेषगरी कृषिमा आधारित समाजमा विषादी सेवन आत्महत्याको प्रमुख माध्यमका रूपमा प्रयोग हुने गरेको उल्लेख गरिएको छ ।
प्रहरीको तथ्यांकले नेपालमा भएका आत्महत्यामध्ये ७५ प्रतिशत विवाहितहरूले गरेको देखाइएको छ । आत्महत्यामध्ये धेरैजसो विष सेवनबाट देखिएको छ । दोस्रोमा झुण्डिएर भएको कुरा विभिन्न तथ्यांकले देखाएको छ । पाटन मानसिक अस्पतालका डा. बासुदेव कार्कीका अनुसार आत्महत्या बढ्नुका पछाडि मनोसामाजिक तथा मानसिक समस्याहरू मुख्य कारण हुन्छन् । विशेषगरी गम्भीर डिप्रेसन, आर्थिक समस्या, सम्बन्धमा तनाव, जीवनका असफलता र एक्लोपनाले आत्महत्याको जोखिम बढाउँछन् । समयमै देखिने पूर्वसंकेत बुझेर साइकोथेरापी, औषधि वा परामर्श सेवा लिएमा जोखिम घटाउन सकिन्छ । उनका अनुसार आत्महत्याको प्रयास महिलामा बढी देखिए पनि मृत्यु हुने घटनामा भने पुरुषहरूको संख्या बढी रहेको पाइन्छ ।
मानसिक स्वास्थ्य राम्रो भएको व्यक्तिमा केही सकारात्मक संकेतहरू देखिन्छन् । यस्तो व्यक्तिले अरूसँग सकारात्मक सम्बन्ध कायम राख्न सक्छ, समय र वातावरणअनुसार आफूलाई अनुकूल बनाउन सक्छ तथा जीवनमा आइपर्ने सामान्य कठिनाइ र तनावलाई व्यवस्थापन गर्न सक्छ । उनीहरू भावनात्मकरूपमा सन्तुलित रहन्छन्, आफ्नो क्षमताअनुसार योजना बनाउँछन् र समुदायमा उत्पादनशील कार्य गर्न सक्षम हुन्छन् । साथै, यस्ता व्यक्तिहरूमा वास्तविक सोचाइ र सकारात्मक दृष्टिकोण पनि पाइन्छ ।
तर केही जोखिम कारकहरूले व्यक्तिलाई आत्महत्यातर्फ धकेल्न सक्छन् । रक्सी वा लागुपदार्थको दुव्र्यसन, स्किजोफ्रेनियाजस्ता मानसिक रोग, विगतमा आत्महत्याको प्रयास गरेको इतिहास, पारिवारिक पृष्ठभूमि तथा घातक साधनहरूमा सहज पहुँच यस्ता जोखिम कारकहरू हुन् । त्यसैगरी द्वन्द्व, प्रकोप, हिंसा, दुव्र्यवहार, डिप्रेसन, एक्लोपन तथा प्रिय व्यक्ति वा वस्तु गुमाउनुजस्ता घटनाहरूले पनि आत्महत्याको जोखिम बढाउन सक्छन् ।
आत्महत्याको जोखिम भएका व्यक्तिमा केही व्यावहारिक संकेतहरू देखिन सक्छन् । उनीहरू प्रायः आफूलाई आशाविहीन, असहाय वा अयोग्य महसुस गर्न थाल्छन् । कहिलेकाहीँ उनीहरू एक्कासि अत्यधिक खुसी वा अत्यधिक दुःखी देखिन सक्छन् । मृत्यु वा आत्महत्यासम्बन्धी कुरा गर्नु, आफूलाई हानि पुर्याउने व्यवहार गर्नु, विषादी वा औषधिजस्ता साधन खोज्नु, परिवार वा साथीहरूलाई बिदाइ भेट गर्नु, सम्पत्ति बाँड्नु वा अन्तिम इच्छा लेख्नु पनि जोखिमका संकेत हुन सक्छन् । त्यस्तै, लागुपदार्थको अत्यधिक प्रयोग पनि गम्भीर चेतावनीको संकेत हुन सक्छ ।
यद्यपि, केही सकारात्मक पक्षहरूले आत्महत्याको जोखिम घटाउन मद्दत गर्छन् । बलियो सामाजिक सम्बन्ध, परिवारप्रतिको जिम्मेवारी बोध, सहयोग लिन तयार हुने व्यवहार, नियमित शारीरिक अभ्यास तथा जीवनमा उद्देश्यको अनुभूतिजस्ता पक्षहरूलाई सुरक्षात्मक तत्व मानिन्छ । साथै, भविष्यप्रति आशा राख्ने र स–साना कुरामा पनि सकारात्मकता देख्ने व्यक्तिहरूमा आत्महत्याको जोखिम कम हुने सम्भावना हुन्छ ।
समाजमा आत्महत्यासम्बन्धी धेरै भ्रमहरू पनि पाइन्छन् । कतिपय मानिसहरू आत्महत्याबारे कुरा गर्ने व्यक्तिले त्यस्तो कदम चाल्दैन भन्ने विश्वास गर्छन्, तर वास्तविकता भने फरक हुन्छ । धेरैजसो आत्महत्या गर्ने व्यक्तिहरूले पहिले नै त्यसबारे संकेत दिएका हुन्छन् वा कुरा गरेका हुन्छन् । त्यस्तै, आत्महत्याको सोच स्थायी हुँदैन; धेरै अवस्थामा यो क्षणिक हुन्छ र उचित सहयोग पाएमा व्यक्ति पुनः सामान्य जीवनतर्फ फर्कन सक्छ । आत्महत्याबारे खुलेर कुरा गर्दा जोखिम बढ्छ भन्ने धारणा पनि गलत हो, किनभने खुला संवादले व्यक्तिलाई राहत महसुस गराउँछ र सहयोग खोज्न प्रेरित गर्छ ।
आत्महत्याको जोखिम भएका व्यक्तिलाई सहयोग गर्ने तरिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिले जोखिमका कारणहरूको मूल्यांकन गर्नु आवश्यक हुन्छ । व्यक्तिलाई सीधै सोधेर उसको अवस्था बुझ्न सकिन्छ, किनभने खुला संवादले उसको पीडा व्यक्त गर्न मद्दत गर्छ । साथै, आत्महत्यासम्बन्धी कुनै पनि धम्की वा संकेतलाई गम्भीररूपमा लिनुपर्छ । कुरा गर्नका लागि सुरक्षित वातावरण बनाउनु, पर्याप्त समय दिनु तथा सहानुभूतिका साथ सुन्नु अत्यन्त आवश्यक हुन्छ ।
समग्रमा हेर्दा आत्महत्या रोकथाम एउटा सामूहिक जिम्मेवारी हो । परिवार, साथीभाइ, समुदाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा सरकारी निकायहरूले संयुक्तरूपमा प्रयास गरेमा धेरै जीवन बचाउन सकिन्छ । समयमै समस्या पहिचान गर्नु, मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्नु, परामर्श सेवा उपलब्ध गराउनु तथा सकारात्मक सामाजिक वातावरण निर्माण गर्नु आत्महत्या न्यूनीकरणका महत्वपूर्ण उपाय हुन् । त्यसैले आत्महत्या रोकथाममा हामी सबैको सक्रिय भूमिका आवश्यक हुन्छ ।