काठमाडाैं - आज मार्च २४ विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी विश्वभरि मनाइँदैछ। "हो! हामी क्षयरोग अन्त्य गर्छौं; राष्ट्रिय अभियान हाम्रो योगदान" भन्ने मुख्य नाराका साथ आज नेपाल र विश्वभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
सन् १८८२ मार्च २४ मा वैज्ञानिक रोबर्ट कोचले (माइकोब्याकटेरियम ट्युबरकोलोसिस)TB को जीवाणु पत्ता लगाएको दिन को सम्झनामा क्षयरोग दिवस मनाइन्छ। यस दिवसले क्षयरोग उन्मूलनका लागि प्रतिबद्धता झल्काउँछ तर नेपालमा भने अझै यो रोग गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहिआएको छ।
आर्थिक वर्ष २०८१ / ०८२ मा नेपालमा क्षयरोगको स्थिति सुधारोन्मुख देखिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार यो वर्ष कुल ३९ हजार १ सय ५१ जनामा क्षयरोग देखिएको छ। अघिल्लो वर्ष ४० हजार ७ सय ७६ जनामा क्षयरोग पुष्टि भएको थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले अहिले १ लाख जनसङ्ख्यामा १ सय ३३ जनामा क्षयरोग देखिएको बताए। उनले सन् २०३५ सम्म १ लाख जनसङ्ख्यामा १० जना भन्दा कममा झार्ने गरी काम भइरहेको र सन् २०५० मा नेपालमा १० लाख जनसङ्ख्या मा एक जना भन्दा कममा खुम्च्याउने लक्ष्य रहेको उनको भनाइ छ। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तिवारीले लक्ष्य भेटाउन नयाँ रणनीति र कार्यक्रमहरू अघि बढाइएको बताए।
२०८२ मङ्सिर महिनामा मात्रै देशभर कुल ३ हजार १ सय ६३ जना औषधि संवेदनशील क्षयरोग (DSTB) का बिरामीहरू फेला परेका छन्। जसमध्ये प्रादेशिक आधारमा मधेस प्रदेशमा सबैभन्दा धेरै प्रभावित भएका छन्। मधेस प्रदेश ३७ प्रतिशत, लुम्बिनी प्रदेश १७ प्रतिशत, बागमती प्रदेश १७ प्रतिशत, कोशी प्रदेश १२ प्रतिशत, सुदूरपश्चिम प्रदेश ८ प्रतिशत, गण्डकी प्रदेश ५ प्रतिशत र कर्णाली प्रदेश ३ प्रतिशत क्षय रोगका बिरामीहरू रहेका छन्।
तुलनात्मक हिसाबले महिलाभन्दा पुरुष बढी प्रभावित भएको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०८१/०८२ को राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुरुष ६१ प्रतिशत प्रभावित छन् भने महिला ३९ प्रतिशत, उमेर समूहको हिसाबले युवा पुस्ता अर्थात् कमाएर देशलाई केही गरेर योगदान दिन सक्ने उमेर समूहलाई यो रोगले बढी प्रभावित पारेको तथ्याङ्कले देखाउँछ। शून्यदेखि १४ वर्षसम्म ५.६ प्रतिशत, १५ देखि ६४ वर्षसम्म ६७.७ प्रतिशत, ६५ वर्षमाथि २५.६ प्रतिशत प्रभावित रहेको तथ्याङ्कले देखाउँछ।
नेपालमा प्रतिवर्ष अनुमानित ६७ हजार नयाँ बिरामी थपिने गरेका छन्। जसमध्ये बर्सेनी १६ हजार मानिसको क्षय रोगका कारण ज्यान गएको छ। नेपालमा दैनिक ४० भन्दा बढी व्यक्तिको क्षयरोगबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ। क्षय रोगको उपचार सफलता दर ९२ प्रतिशत रहेपनि नेपालमा 'पहिचान हुन नसकेका बिरामी' र 'उपचारबाट छुटेका बिरामी' (Missing Cases) ले कुल अनुमानित बिरामीमध्ये अझै ४१.६% बिरामीहरू स्वास्थ्य प्रणालीको सम्पर्कमा आउन सकेका छैनन्। अर्थात् क्षयरोगको सुसुप्त सङ्क्रमण (Latent TB infection)बाट प्रभावित छन्। उनीहरू समाजमा रोग फैलाउने जोखिममा छन्। जसले गर्दा नेपालमा क्षयरोगको नियन्त्रणमा ठूलो चुनौतीको रुपमा रहेको छ।
हाल नेपाल अधिराज्यभरि ६ हजार २ सय ४१ क्षयरोग सेवा केन्द्र र ९ सय ५९ सूक्ष्म क्षयरोग परीक्षण केन्द्रहरू सञ्चालनमा छन्। नेपालमा क्षयरोग निवारणको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू विश्व स्वास्थ्य संगठन (WHO), ग्लोबल फण्ड (The Global Fund), युएसएड (USAID) , SAVE THE CHILDREN, नेपाल क्षयरोग निवारण संस्था (NATA), विराद (BIRAT) जस्ता समुदाय स्तरमा काम गरिरहेका छन्।
२ देखि ३ हप्तासम्म खोकी लागेमा, खकारमा रगत देखिएमा, छाती दुखेमा थकान वा कमजोर महसुस भएमा, साँझपख हल्का ज्वरो आएमा, सुतेको बेलामा पसिना आएमा तुरुन्त क्षयरोगको परीक्षण गराउनुपर्छ। समयमै क्षयरोग पत्ता लागेमा नियमित औषधी सेवन गर्दा यो रोग पूर्णरूपले निको हुन्छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार क्षयरोग लागेका व्यक्तिको उपचार नगरेमा ५० प्रतिशतको मृत्यु हुने बताउँछन्। त्यस्तै २५ प्रतिशत आफै निको हुने र २५ प्रतिशतले अरुलाई रोग सार्छन्। अविकसित देशमा धेरै गरिबी हुने भएकोले TB को समस्या पनि रहिरहने डा. शाह बताउँछन्।
नेपालमा क्षयरोग नियन्त्रणका लागि संरचना र कार्यक्रम विस्तार भएपनि विशेषगरी DRTB, HIV सह संक्रमण र उपचारबाट छुट्ने बिरामी सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ। नेपालमा TB मुक्त लक्ष्य हासिल गर्न समयमै रोग पहिचान, निरन्तर उपचार र समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न जरुरी छ।