सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसाबको विकास र समृद्धिको उचाइ भर्ने बेला आएको छ । त्यसको ड्राइभिङ सिटमा स्वर्णिमलाई अर्थमन्त्रीको रुपमा देशले हेर्न चाहेको छ । हाम्रो देशलाई कृत्रिमरुपमा विकसित भनिएका देशहरु जस्तो होइन, रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफल टावर अथवा बुर्ज खलिफा होइन, सांस्कृतिक रुपले सम्पन्न बस्तीहरु बनाउनु छ । किनकि, आइफल टावरहरु हाम्रा सगरमाथाका फेदीबराबर पनि होइनन् ।
निर्वाचनको प्रचारप्रसारको दौरानमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेले ‘डाक्टर साब नयाँ बजेटको खाका कोर्न सुरु गर्नूस्’ भनेको कुरा जनजनमा गुञ्जियो । त्यसैले त होला तनहुँका मतदाताले वाग्लेलाई यसपटक पनि भारी मतले जिताए । आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवार अर्थमन्त्री बन्ने विश्वासमा मतदाताले जिताइदिए ।
त्यसैगरी रास्वपाले लोकप्रिय युवा एवं काठमाडौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि सिंगै देश घण्टीमय भयो । अर्थात् नयाँ गर्छौं भन्ने पात्रहरुसँग देशले धेरै आश गर्यो । त्यसकारण देशभर घण्टी बज्यो ।
बालेन र स्वर्णिममात्र होइनन्, देशभर घण्टी बज्नुमा रवीले पुराना दलहरुबाट पाएको सास्ती पनि अर्को कारण हो । भए नभएका मुद्दा मामिलाको उल्झनमा अड्काएर भर्खरै जन्मिएको पार्टीलाई अघि बढ्न नदिने पुरानाहरुको अभिष्ट कालान्तारमा असफल भयो । अर्को, रवीसँग अन्याय, अत्याचार, गरिबी, रोग, भोक र पीडा संगालेर जीवन बाँचेकाहरुको ठूलो आशा देखिन्छ । फलतः देशभर घण्टी बज्यो । मतदाताहरुले मूलतः यिनै र यस्तै पात्र हेरेर भोट हाले । उसका देशभरका उमेदवारले जित निकाल्न सफल भए । र, उनीहरु प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगे ।

अब जुन हिसाबले निर्वाचनपूर्व रास्वपाको अर्थमन्त्री र प्रधानमन्त्री फलानो-फलानो हुने छन् भनेर प्रचार गरियो । त्यही हिसाबमा मन्त्रीमण्डल बनोस् भनेर धेरैले चाहेका छन् । अझ देश विकासको महत्वपूर्ण बागडोर सम्हाल्ने अर्थमन्त्रीमा प्रचार गरिएजस्तै स्वर्णिमको प्रतीक्षा अर्थतन्त्र र सेयर बजारले गरेको छ । सिंगै देशको बजेट बनाउने जिम्मेवारी रहने अर्थ मन्त्रालयमा यसपटक अन्तर्राष्ट्रियस्तरमा परिचित अर्थशास्त्री तथा रास्वपा नेता वाग्ले पुग्दै छन् । विश्वविख्यात् भनिएका युर्निभर्सिटीहरुमा पढेका, विश्व बैंक तथा युएनडिपीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा सल्लाहकारको रुपमा काम गरेका वाग्लेलाई पनि काम देखाउने मौका छ । सायद आफैं अर्थमन्त्री हुने दिनहरुको प्रतीक्षामा विगतका सरकारहरुलाई उनले खासै गम्भीर सल्लाह दिएनन् ।
आफैंले ठाउँमा पुगेपछि काम गर्नुपर्छ भनेर पनि होला, विगतका सरकारहरुलाई आफ्नो विज्ञताको पोको फुकाएनन् । साह्रै बाठा स्वभावका वाग्ले धेरैजसो अन्तर्राष्ट्रिय अर्थतन्त्र र गतिविधिमा रुचि राख्छन् । उनलाई खुद्रा मसिना विषयमा रुचि नै छैन भन्दा पनि हुन्छ । खासगरी नेपाली मिडियाहरुमा पनि उनले अन्तर्वार्ताबाहेक लेख लेखेनन् । बरु विदेशी मिडियाहरुमा उनको रुचि देखिन्छ र तिनैका सन्दर्भहरु कोट्याएका देखिन्छन् । जे होस् उनलाई सामाजिक सञ्जालमा पछ्याउँदा विदेशका विभिन्न फोरमहरुमा नेपालको पक्षमा बोलेका छन् । गम्भीर बौद्धिक बहसहरु गरेका छन् । कतिपय देशको अर्थतन्त्र सुधार गर्न गम्भीर सल्लाह, सुझाव र प्रतिवेदन नै उनले लेखिदिएका छन् । उनलाई नेपाललेभन्दा बढी विदेशी विद्वानहरुले चिन्दछन् ।
अर्थतन्त्रका यतिको ज्ञाता मान्छे नेपालमा अर्थमन्त्री बन्दै छन् । सायद अब उनले आफ्नो ज्ञान र विज्ञताको पोको फुकाउने छन् र सर्लक्क नेपाली अर्थतन्त्रको काँचुली फेरिने हिसाबको बजेट तथा नीति कार्यक्रम ल्याउने छन् । अहिलेलाई त्यही आशा गरौं । किनकि, वाग्लेले दुनियाँको विकास देखेका छन् । त्यहाँ लागू भएका नीति र कार्यक्रम केलाएका छन् । दुनियाँलाई सुझाव दिएका छन् । अब उनले नेपालको विकास र समृद्धिको चित्र कसरी कोर्ने छन् त्यो हेर्दै जाउँला । तर उनलाई रास्वपाले जसरी चुनावअघि अर्थमन्त्रीको पोस्चर बनाएको थियो, अब दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने रास्वपाले उनलाई अर्थमन्त्रीको रुपमा उभ्याउनै पर्छ । किनकि, धेरै लामो समयदेखि नेपालको अर्थतन्त्र, सेयरबजार आदिले समकालीन विश्व व्यवस्था र आधुनिक विकास बुझेको विज्ञ अर्थमन्त्री खोजेको थियो ।
खासगरी नेपाल भूगोलका हिसाबले ४० नम्बरको मध्यमस्तरको देशको हो । तीन करोड जनसंख्या भएको विकाशशील देशमा उक्लँदै गरेको राष्ट्र हो । प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न देश भएकोले यहाँ मूलतः ऊर्जा र पर्यटन क्षेत्र समृद्धिका मूल कडी हुन् । हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । कृषि उत्पादन र जडीबुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थित छ । त्यसकारण हामीले तरिका जान्ने हो भने हामी हाम्रा वस्तु, सेवाको बजारको दृष्टिकोणले पनि ठूलो बजारको सामीप्यमा छौं । बाटो, घाटो, बिजुली, खानेपानी, विद्यालय र स्वास्थ्यचौकी जस्ता आधारभूत पूर्वाधारहरुमासमेत देशले निकै प्रगति गरिसकेको अवस्था छ ।
देशका हरेक सदरमुकाम पिच सडकले जोडिइसकेका छन् । गाउँ-गाउँ, दूरदराजसम्म पक्की सडक पुगिसकेका छन् । समकालीन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो । पर्यटनको यथोचित प्रवद्र्धन गर्नुपर्ने विषय हो । विश्वमा अग्ला हिमालहरुमध्ये सगरमाथासहित १८ अग्ला हिमाल नेपालमै अवस्थित छन् । हिमाल र हिमाली बसोबास, संस्कार, संस्कृति हेर्न नेपालबाहेक विश्वमा अर्को विकल्प छैन । अग्ला गगनचुम्बी महाभारत पर्वतहरु हेर्न र त्यहाँ पाइने अनेकन प्रजातिका फूल, जनावर हेर्न नेपालबाहेक अर्को विकल्प छैन ।
त्यसकारण सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसाबको विकास र समृद्धिको उचाइ भर्ने बेला आएको छ । त्यसको ड्राइभिङ सिटमा स्वर्णिमलाई अर्थमन्त्रीको रुपमा देशले हेर्न चाहेको छ । हाम्रो देशलाई कृत्रिमरुपमा विकसित भनिएका देशहरु जस्तो होइन, रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफल टावर अथवा बुर्ज खलिफा होइन, सांस्कृतिक रुपले सम्पन्न बस्तीहरु बनाउनु छ । किनकि, आइफल टावरहरु हाम्रा सगरमाथाका फेदीबराबर पनि होइनन् । ती कुनै पनि कारण ढल्न सक्छन् तर हाम्रो प्रकृतिका देव सगरमाथाहरु कहिल्यै ढल्ने छैनन् ।
नयाँ सरकारलाई सुझाव
अब बन्ने सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामीण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । त्यसका आलवा २६ वटा जो राष्ट्रिय गौरवका निर्माणाधीन आयोजना छन् ती समयमै सक्नेगरी लाग्नुपर्छ । लगानीका ‘प्लेटफर्म’हरु सेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनका सरकारी झण्झट, कर्मचारीहरुको ढिलासुस्ती तथा जनताका स-सना कामहरुमा हुने झण्झटिला प्रावधान शीघ्र रुपमा हटाउनुपर्छ । निजी क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लिइनुपर्छ । नीतिगतरुपमा अत्यन्त सुन्दर व्यावसायिक वातावरण बनाइनुपर्छ ।
त्यसैगरी सरकारले २१ प्रतिशत जो गरिबी छ, त्यसलाई पाँच वर्षमै शून्यमा झार्ने लक्ष्यसहित काम गर्नुपर्छ । प्रगतिशील करमार्फत धनी र गरिबबीचको खाडल हटाउने र नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्नेगरी काम गर्नुपर्छ । भावी अर्थमन्त्रीले आफ्नो विगतका पहुँच, अनुभवका आधारमा विदेशी लगानी भित्र्याउन जोड दिनुपर्छ । पाँच वर्ष स्थिर सरकार र व्यवसायमैत्री वातावरण खडा गर्ने हो भने पक्कै पनि देशमा समृद्धिका बहार भित्रने छ । त्यसका लागि अर्थमन्त्रीमा रास्वपाका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिमलाई धेरैले हेर्न चाहेका छन् । विश्व अर्थतन्त्र बुझेका उनले अर्थतन्त्रबारे ठूलठूला प्रवचन दिएअनुसार कत्तिको काम गर्न सक्छन् । नेपाली अर्थतन्त्र कत्तिको बुझेका छन्, जनताले अब हेर्ने छन् ।