काठमाडौं- षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को पहिला गीत सार्वजनिक भएको छ । गीत ‘मायालाई के दिउँ म बैना’ गत शुक्रबार फागुन २९ गते युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रपहिलो गीत ‘मायालाई के दिउँ म बैना’ अहिले दर्शकदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मको मन जित्न सफल भएको छ । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको यो गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा लाखौं भ्युज बटुल्दै ट्रेन्डिङमा उक्लिएको छ । गीतको लोकप्रियतासँगै टिकटक र फेसबुक रील्समा यसको क्रेज झन् बढ्दो छ । विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापा ले प्रस्तुत गरेको नृत्य अहिले भाइरल बनेको छ। उनीहरूको स्टेपलाई पछ्याउँदै हजारौं प्रयोगकर्ताले भिडियो बनाइरहेका छन् , जसले गीतलाई अझ व्यापक बनाएको छ ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले गीतको लोकभाका, गायक–गायिकाको स्वर र नृत्यशैलीको खुलेर प्रशंसा गरेका छन्। यसले कन्टेन्ट क्रिएटरहरूको रोजाईमा पनि स्थान बनाएको देखिन्छ । गीतको तयारीबारे कुरा गर्दै स्वस्तिमाले छायांकनकै बीच-बीचमा अभ्यास गरिएको बताइन्। बालकलाकार समाइराको मेहनतले आफूलाई अझ प्रेरणा मिलेको उनको भनाइ छ । गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगर को स्वर रहेको छ भने सङ्गीत पनि खेम सेन्चुरीकै हो। शब्द रमेश बिजी ले लेखेका हुन्। कोरियोग्राफी प्रदीप लामा ले गरेका छन् । फिल्म आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ ।
बर्दियाको राजापुरमा छायांकन गरिएको यस फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायतका कलाकारहरूको अभिनय रहनेछ । निर्देशक यम थापा ले गीत कथासँगै अघि बढ्ने गरी निर्माण गरिएको बताउँदै दर्शकबाट पाएको मायाले टिम उत्साहित भएको बताएका छन् ।