काठमाडौं- छायांकनमा व्यस्त रहे पनि सामाजिक सञ्जालमा अभिनेता तथा व्यंग्यकार जितु नेपालले चोटिला स्टाटस लेख्न भ्याएका छन् । उनले हल्का व्यंग्यात्मक तरिकाले सामाजिक सञ्जालमा प्रतिनिध सभा सदस्यको निर्वाचनपछि अबको शासन नो भाषण केवल मात्र काम मात्र भन्दै सुन्दर तस्विरसहित स्टाटस लेखेका हुन् ।
अभिनेता तथा व्यंग्यकार जितु नेपाल यतिबेला पूर्वी नेपालमा छन् । उनी सुनसरी जिल्लाको चतरामा फिल्म ‘कार्की साइँला’ को छायांकनमा व्यस्त छन् । छायांकनमा व्यस्त रहे पनि बेला–बेलामा सामाजिक सञ्जालमा सुन्दर तस्विर तथा चोटिला स्टाटस लेख्नसमेत भ्याइरहेका हुन्छन् ।
यसैबीच, जितुले बुधवार दिउँसो पनि एउटा तस्विरसहितको रमाइलो स्टाटस लेखेका छन् । उनको स्टाटसमा हल्का व्यंग्य पनि छ, नेपालको प्राकृतिक सुन्दरताको वर्णन पनि छ अनि आन्तरिक पर्यटनको प्रवद्र्धन पनि छ ।‘जहाँ देशको झण्डा, त्यहाँ जितु नेपाल’, सप्तकोशी नदीमा चतरा–भोजपुर रुटमा चल्ने पानी जहाजको ड्राइभिङ सिटमा नेपालको झण्डासंगै बसेको तस्विर शेयर गर्दै उनले लेखेका छन् । ‘चतराबाट भोजपुर चल्ने यात्रुवाहक सवारी– पानी जहाज, कलाकार नेपालले अगाडि लेखेका छन्– ‘कार्की साइँलाको छायांकनको क्रममा ।’
आफू चतरामा भएको जानकारी गराएपछि उनले हल्का व्यंग्य कस्न थालेका छन् । लेख्छन्, ‘अब आकाशमा हवाइ जहाज, पानीमा पानी जहाज, पूर्व-पश्चिम रेल, काठमाडौंमा मेट्रो, बाटो–बोटोमा टनेल र स्काई पूल ।’ ‘अबको शासन नो भाषण, केवल मात्र काम, हैन त ?’
उनले आफ्नो स्टाटसको अन्त्यमा प्रतिनिध सभा सदस्यको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको अभूतपूर्व जीत तथा यही पार्टीको नयाँ नेतृत्वमा बन्ने सरकारलाई घुमाउरो शैलीमा सुझावसमेत दिन भएका छन् ।