काठमाडाैं - भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्रान्ड एम्पियर नेपालमा सार्वजनिक भएको छ । बिहीबार एम्पियरको आधिकारिक बिक्रेता एसटीसी ग्रुपअन्तर्गतको एसटीसी अटो सलुसनले उक्त ब्रान्ड नेपालमा सार्वजनिक गरेको हो।
भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गरेको एम्पियर ब्रान्डका अब नेपालमा उपलब्ध भएको छ। कम्पनीले एम्पियरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको हो। एम्पीयर भारतमा टप ६ ब्रान्डको रुपमा आफ्नो बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १७ वर्षदेखि भारतमा विद्युतीय दुईपांग्रे साधन उत्पादन गर्दै आएको छ। एम्पियरका स्कुटहरुमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएका छन्। यी स्कुटहरु अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अत्यन्तै तातो (६० डिग्री) मा परीक्षण भएका छन्।

एम्पियरमा प्रयोग भएका लिथियम फेरो फोस्फेट ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी रहनेछ। एम्पियरका स्कुटहरुमा मजबुद च्यासिस, ट्विन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन्। एम्पियर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ। यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।
यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ। यसको मूल्य तीन लाख रुपैयाँ कायम गरिएको छ। नेक्ससमा ३.५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ। मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्ससहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय हवील, डिस्क ब्रेक, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ। यसको मूल्य तीन लाख ३० हजार रुपैयाँ तोकिएको छ।