तनहुँ- तनहुँ जिल्लाका १० वटै स्थानीय तहले शुक्रबार फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा देवघाट, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ, घिरिङ र म्याग्दे गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र ४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
यस निर्णयसँगै सम्बन्धित पालिका अन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी (अत्यावश्यक बाहेक) तथा सम्पूर्ण सार्वजनिक संघसंस्थाहरू शुक्रबार बन्द रहने छन् । गत वर्ष जस्तै यस वर्ष पनि सबै स्थानीय तहले बिदा दिएर मगर समुदायको पहिचानलाई सम्मान गरेकोमा नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्क थापा मगरले खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष थापाका अनुसार यस वर्षको दिवसलाई विशेष बनाउन सदरमुकाम दमौलीमा सांस्कृतिक पोसाक सहितको बृहत् र्याली, मगर जातिको मौलिक झाँकी प्रदर्शन तथा दमौली सभाहलमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उनले स्थानीय सरकारको यो समन्वयले मगर जातिको भाषा, संस्कृति र इतिहासको संरक्षणमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष सिद्धान्त थापा मागरले दिनु भएको जानकारी अनुसारका ऐतिहासिक रूपमा २०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई नै मगर संघले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको हो ।
पञ्चायती व्यवस्थाको कठिन समयमा प्रहरी घेराबन्दीका बिच २०३९ फागुन १४ देखि १६ गतेसम्म हजारौँ मगर समुदायको उपस्थितिमा दमौलीमा प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही ऐतिहासिक क्षणको स्मरणमा फागुन १५ लाई ‘मगर दिवस’ का रूपमा मनाउन थालिएको थियो । पछि २०४८ सालको चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ को नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।
मगर दिवसको अवसरमा जिल्लाभर मगर संस्कृति झल्काउने भेषभूषा र झाँकीसहितका कार्यक्रमहरू आयोजना हुने छन् । विशेष गरी परम्परागत सोरठी, कौडा, सालैजो र घाटु नाचको माध्यमबाट मगर समुदायले आफ्नो मौलिक परम्परा प्रदर्शन गर्ने छन् । जिल्लाका गाउँदेखि सहरसम्म मगर समुदायको बाक्लो उपस्थिति रहने यस दिवसले जातीय एकता र सांस्कृतिक सद्भावलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको संघले जनाएको छ ।