तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले अत्यधिक कडा माग गरेका कारण तेहरान र वासिङ्टनबीचको आणविक वार्ताको प्रगतिमा बाधा पुगेको बताएको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आणविक वार्ताको प्रगतिमा बाधक इरान नभएको दावी गर्दै यसको दोष पश्चिमा गठबन्धनलाई दिएका हुन् ।
राष्ट्रपति पेजेश्कियानले इरानले आणविक हतियारको खोजी नगरेको र कुनै पनि प्रमाणीकरणका लागि तयार रहेको जिकिर गरे । “हामी विश्वास के कुरामा विश्वास गर्छौं भने यस क्षेत्रका समस्याहरू क्षेत्रीय देशहरूले मात्र समाधान गर्न सक्छन्, विदेशी राष्ट्रहरूले होइन,” उनले भने ।
“इरानले कहिले पनि अत्यधिक माग र आक्रामकताको अगाडि आत्मसमर्पण गर्ने छैन,” उनले भने। यसैबीच, पेजेस्कियानले इरान इमान्दारिताका साथ कूटनीतिको बाटोमा हिँडिरहेको र क्षेत्रीय शान्ति सुनिश्चित गर्न पश्चिम एशियाका देशहरूसँग अन्तरक्रिया गरिरहेको बताएका छन् ।
देशमा हालैको अशान्तिको बारेमा राष्ट्रपति पेजेश्कियानले भने, “आफ्नो प्रशासनले इरानी जनताको समस्या समाधानका लागि हरसम्भव प्रयास गरिरहेको छ र इरानलाई अन्य कुनै पनि कुराभन्दा आन्तरिक एकताको आवश्यकता छ।” उनले घरेलु आर्थिक विकासलाई गति दिन इरानले अन्तर्राष्ट्रिय बजार, विशेष गरी मुस्लिम र छिमेकी देशहरूको बजारमा पहुँच प्राप्त गर्नुपर्ने बताए।