काठमाडाैं - लुम्बिनी विकास बैंक लि. आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत साहारा फुटबल एकेडेमीलाई सहयोग गरेको छ । साहारा क्लब पोखराद्वारा पोखरा-१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई विगत वर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै बैंकले आर्थिक सहयोग स्वरुप रु. २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको हाे ।
बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा लाई उक्त रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गुरुङ लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकाहरुलाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै साहारा क्लबले निकै उदारणिय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लब लगायत संस्थाका पदाधिकारीहरुको उच्च प्रसंशा समेत गरे ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । एकेडेमीमा हाल १५ जिल्लाका ३० कठिन एवं विपन्न परिस्थितिका बालकहरु रहेका छन् । साहारा क्लब पोखराले उनीहरुको लालन - पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।