चितवन- संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक एक लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । गैँडाकोट नगरपालिका-६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गरेका हुन् ।
छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उनले कालीजपालन सुरु गरेका थिए । १३ लाख रुपैयाँ लागतमा उनले सो व्यवसाथ सुरु गरेका थिए । सुरुमा प्रतिगोटा दुई हजार रुपैयाँमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गरेका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्छन् । एउटा चल्ला २०० रुपैयाँमा बिक्री हुने गरेको छभने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उनले बताए ।
पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा दुई हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उनको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।
चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान-बेलुका कालिजलाई खाना दिन्छन् भने दिउँसो अन्य काममा लाग्छन् । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।
सापकोटाले भने, “साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।”