कञ्चनपुर- अन्नबालीखेतीको तुलनामा सागसब्जीबाट बढी आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। सागसब्जीखेती, बिरुवा उत्पादन र च्याउखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूले यसैलाई इलम बनाएका हुन्।
भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले एक कट्ठा जग्गामा ५०० रुपैयाँ लगानी गरेर सागसब्जीखेती सुरु गरेका थिए। पहिलो उत्पादन बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगेका छन्। विसं २०७२ देखि व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका खड्काले अहिले तीन बिघा जग्गामा विभिन्न जातका सागसब्जी उत्पादन गर्दै आएकबा छन्।
धान र गहुँखेतीको तुलनामा सागसब्जीखेतीबाट तीन गुणासम्म बढी आम्दानी हुन थालेपछि यसलाई व्यावसायिक रूपमा अघि बढाएको खड्काले बताए। एक कट्ठाबाट सुरु गरेको खेती विस्तार गर्दै लगेका बेला कोरोना महामारीका कारण भारतमा रोजगारीका लागि गएका उहाँका दुई छोरा घर फर्किएपछि खेतीलाई थप विस्तार गरेको उनले बताए।
सागसब्जीखेतीबाट हुने आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च धान्न सहज भएको उनको भनाइ छ। सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। यही आम्दानीबाट २० लाख रुपैयाँ खर्च गरेर एक छोरालाई विदेश पठाएको, घर बनाएको र खेतीका लागि तीन वटा मोटरसाइकल तथा ५० प्रतिशत अनुदानमा अटो किनेको उनले जानकारी दिए।
त्यसैगरी, भीमदत्त नगरपालिका-४ गोबरियाका दमन चन्दले ५० हजार रुपैयाँ लगानीमा सुरु गरेको बिरुवा उत्पादन व्यवसाय विस्तार गरी वार्षिक ६० लाख रुपैयाँसम्मको कारोबार गर्ने अवस्थामा पुर्याएका छन्। एक दशकअघि सुरु गरेको व्यवसायबाट सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताए।
पहिले कुटानीपिसानी मिल सञ्चालन गर्दै आएका चन्दले विद्युत् र कामदारको समस्या तथा ऋणको भार बढ्दै गएपछि नर्सरी व्यवसाय सुरु गरेका हुन्। अहिले उनले आफ्नै आधा बिघा र भाडामा लिएको डेढ बिघा जग्गामा फलफूल तथा घर सजावटका बिरुवा उत्पादन गर्दै आएका छन्। उनको नर्सरीमा ४५ प्रकारका बिरुवा उपलब्ध छन्। प्रतिगोटा २०० रुपैयाँ देखि १० हजार रुपैयाँसम्मका बिरुवा बिक्री हुने गरेको उनले बताए।
श्रीमान् गुमाएपछि घरखर्च चलाउन अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि भीमदत्त नगरपालिका-६ वनगाउँकी पार्वती थापाले पनि आत्मनिर्भर बन्न कृषि व्यवसाय रोजिन्। सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले अहिले पाँच वटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन्।
अरूसँग पैसा माग्नुभन्दा आफैँ काम गरेर आत्मनिर्भर बन्ने सोचले च्याउखेती सुरु गरेको उनले बताइन्। च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशत नाफा हुने गरेको उनको भनाइ छ। च्याउ बिक्रीबाट रखर्च र दुई छोराको पढाइ खर्च धानिएको उनले बताइन्। च्याउ बिक्रीबाट भएको नाफा पुन: खेतीमा लगानी गर्दै आएकी थापाले वार्षिक एक हजार ५०० केजी च्याउ बिक्रीबाट करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेको जानकारी दिइन्।
कृषि उद्यम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण भीमदत्त नगरपालिका-११ भुजेलाका ७५ वर्षीय अर्जुनबहादुर डाँगी । पूर्वप्रहरी डाँगीले २०५४ सालमा प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएर घर फर्किएपछि सागसब्जीखेती सुरु गरेका थिए।
सुरुमा १०० ग्राम धनियाको बीउ लगाएका उनले पहिलो उत्पादन बिक्रीबाटै एक हजार २०० रुपैयाँ आम्दानी गरेका थिए। त्यसपछि धनियासँगै मौसमी तथा बेमौसमी सागसब्जीखेती विस्तार गर्दै गए। अहिले पाँच कट्ठा जग्गामा आलु, लसुन, काउली, बन्दा, रायो र धनियालगायत सागसब्जी उत्पादन गर्दै आएका डाँगीले खेतीबाट वार्षिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।