एएफपी- बंगलादेश केट बोक्रिर्डले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब अल हसनको पुनरागमन खुला गरिने भएकाे छ । केट बोक्रिर्डका अधिकारीहरूले शकिबको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाका लागि ढोका खुला राखिएको बताएका हुन् ।
क्रिकेट मैदानमा लामो समयदेखि चम्कँदै आउनुभएका शकिब सन् २०२४ को जनआन्दोलनका क्रममा अपदस्थ भएको तत्कालीन सत्तारूढ दलका सांसदसमेत रहेका थिए । पूर्वप्रधानमन्त्री शेख हसिनासँगको निकट सम्बन्धका कारण शकिब जनआक्रोशको केन्द्रमा परेका थिए । विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको घातक प्रहरी दमनसँग जोडेर हसिनामाथि हत्या अनुसन्धान गरिएकामध्ये उनी पनि एक हुन् ।
शकिबले सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । तर गत महिना उहाँले आफ्नो त्यो निर्णय फिर्ता लिँदै पुनः खेल्ने इच्छा व्यक्त गरे । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) का वरिष्ठ अधिकारी अमजद हुसेनले शनिबार राति पत्रकारहरूसँग कुरा गर्दै यदि अवस्था अनुकूल भए शकिबलाई राष्ट्रिय टोलीमा विचार गरिने स्पष्ट पारे ।
“बोर्डले सर्वसम्मत रूपमा निर्णय गरेको छ कि यदि शकिब अल हसनको उपलब्धता, शारीरिक फिटनेस र पहुँचले अनुमति दियो भने र उहाँ खेल हुने स्थानमा उपस्थित हुन सक्नुहुन्छ भने बोर्ड र चयन समितिले उहाँलाई राष्ट्रिय टोलीका लागि विचार गर्नेछ”, उनले भने ।
अमजद हुसेनका अनुसार विदेशी लिगहरूमा सहभागी हुन चाहेमा बिसिबीले शकिबलाई अनापत्ति प्रमाणपत्र (एनओसी) पनि प्रदान गर्नेछ । “यदि उहाँ अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्न चाहनुहुन्छ भने बोर्डले आवश्यकताअनुसार एनओसी उपलब्ध गराउनेछ”, उनले थपे ।
शकिबले यसअघि विद्यार्थी आन्दोलनको समयमा मौन बसेको विषयमा सार्वजनिक रूपमा माफी मागेका थिए । तर उनले अपदस्थ सरकारमा सहभागी हुने आफ्नो निर्णयको भने बचाउ गरेका थिए । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शनिबार बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएपछि बंगलादेश अर्को महिना हुने टी-२० विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको छ ।
बिसिबीले आफ्ना खेलाडीहरू भारत पठाउन अस्वीकार गरेको थियो र खेलहरू सह-आयोजक श्रीलङ्कामा सार्न आग्रह गरेको थियो । भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि नयाँदिल्ली र ढाकाबीचको विवाद यसै महिना सुरु भएको थियो ।
आइसिसीले भारतमा बंगलादेशी टोलीका लागि कुनै विश्वसनीय सुरक्षा खतरा नभएको जनाएको छ । तर बिसिबीले यो विषय आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको बताएको छ । “यो सुरक्षासम्बन्धी सरकारी निर्णय हो”, अमजद हुसेनले भन्नुभयो, “यसका कारण हामीले गर्न सक्ने अरू केही थिएन ।” हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी-२० प्रतियोगितामा खेलिरहनुभएको थियो र त्यसयता उहाँ बंगलादेश फर्किएका छैनन् ।
बायाँहाते अलराउन्डर शकिबले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय अन्तर्राष्ट्रिय र १२९ टी-२० खेल खेल्नुभएको छ । यी सबै प्रतियोगितामा उनले कुल ७१२ विकेट लिएका छन्, जसले उनलाई बंगलादेश क्रिकेट इतिहासका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक बनाएको छ ।