एजेन्सी - रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सको अबुधाबीमा वार्ता गर्ने भएका छन्। अधिकारीहरूका अनुसार करिब चार वर्षअघि युक्रेनमा रुसले आक्रमण गरेपछि यो तीन देशहरू सम्मिलित पहिलो बैठक हुनेछ।
राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राजदूतहरूबीच मस्कोमा भएको बैठकपछि अबुधाबीमा हुने वार्तामा रूसी अधिकारीहरूले भाग लिने क्रेमलिनले पुष्टि गरेको छ। रुसले यी वार्ताहरूलाई हरेक हिसाबले उपयोगी भनेर वर्णन गरेको छ। तर क्षेत्रीय मुद्दाहरू समाधान नगरी दीर्घकालीन शान्ति सम्झौता सम्भव नभएको बताएको छ।
यसअघि, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा रूसविरुद्ध कारबाही गर्न राजनीतिक इच्छाशक्तिको अभाव भएको भन्दै युरोपेली सहयोगीहरूको आलोचना गरेका थिए। बिहीबार राति पुटिनसँगको बैठकमा तीन अमेरिकी प्रतिनिधिहरू उपस्थित थिए। पुटिनका अन्य दुई सहयोगीहरू पनि उपस्थित थिए।