एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति र वितरणमा नियन्त्रण बढाउने प्रयासअन्तर्गत अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित सातौँ प्रतिबन्धित तेल ट्यांकर आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी दक्षिणी कमाण्डका अनुसार ‘एमभी साजिट्टा’ नामक उक्त तेल ट्यांकरलाई कुनै अप्रिय घटना बिना नियन्त्रणमा लिइएको हो ।
सो ट्यांकर क्यारेबियन क्षेत्रमा प्रतिबन्धित जहाजहरूमाथि लागू गरिएको अमेरिकी ‘क्वारेन्टाइन’ को उल्लङ्घन गर्दै सञ्चालन भइरहेको जनाइएको छ । लाइबेरियामा दर्ता भएको उक्त ट्यांकर हङकङस्थित कम्पनीको स्वामित्व तथा व्यवस्थापनमा रहेको बताइएको छ । यस जहाजले पछिल्लो पटक दुई महिनाभन्दा बढी समयअघि युरोपको बाल्टिक सागर क्षेत्र छाड्दा आफ्नो स्थान प्रसारण गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्यांकरले भेनेजुएलाबाट तेल लिएको पुष्टि भएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणसँग सम्बन्धित कार्यकारी आदेश अन्तर्गत उक्त ट्यांकरमाथि प्रतिबन्ध लगाएको थियो । दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यो कदमले भेनेजुएलाबाट बाहिरिने तेल अन्तर्राष्ट्रिय नियम र कानुनअनुसार मात्र हुनुपर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।”
भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणको प्रयास
यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पदबाट हटाइएपछि ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उत्पादन, प्रशोधन तथा अन्तर्राष्ट्रिय वितरणमा सक्रिय भूमिका निर्वाह गर्ने नीति अघि सारेको छ । अमेरिकी अधिकारीहरूका अनुसार तेल ट्यांकरहरू नियन्त्रणमा लिएर प्राप्त हुने आम्दानी भेनेजुएलाको कमजोर अर्थतन्त्र र तेल उद्योग पुनःनिर्माणमा प्रयोग गर्ने लक्ष्य राखिएको छ ।
राष्ट्रपति ट्रम्पले हालै तेल कम्पनीका प्रमुखहरूसँग भेट गरी भेनेजुएलाको तेल क्षेत्रमा करिब १०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेका थिए । उनले अमेरिका कम्तीमा तीन करोडदेखि पाँच करोड ब्यारेल भेनेजुएलाली तेल बिक्री गर्ने तयारीमा रहेको बताए ।
मङ्गलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले हालसम्म पाँच करोड ब्यारेल तेल भेनेजुएलाबाट बाहिर लगिसकेको दाबी गर्नुभयो । “हामीसँग अझै ठूलो परिमाणमा तेल बाँकी छ, जसलाई खुला बजारमा बिक्री गरिँदैछ,” उनले भने ।
यसअघिका ट्यांकर नियन्त्रण
पहिलो तेल ट्यांकर डिसेम्बर १० मा भेनेजुएलाको तट नजिकै नियन्त्रणमा लिइएको थियो । त्यसपछि अधिकांश ट्यांकरहरू भेनेजुएलाको आसपासका समुद्री क्षेत्रमा नियन्त्रणमा लिइएका छन् । बेला एक नामक ट्यांकर भने उत्तर अटलान्टिक क्षेत्रमा नियन्त्रणमा लिइएको थियो ।
विश्लेषकहरूका अनुसार अमेरिकाको यस कदमले भेनेजुएलाको तेल व्यापार, अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा क्षेत्रीय राजनीतिक समीकरणमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।