काबुल- अफगानिस्तानमा कुपोषण संकटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्याइरहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस संकटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ ।
देशमा सन् २०२१ देखि तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग रकम सन् २०२५ मा आधाभन्दा कम भएको छ । आउँदो १२ महिनामा पाँच लाखभन्दा बढी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्नेछन् भने करिब चार लाख बालबालिकालाई उपचार आवश्यक पर्न सक्छ । कुपोषण उपचार गर्ने क्लिनिकहरू बन्द हुँदै गएका छन् र उपचार नपाउँदा धेरै बालबालिका ज्यान गुमाउने जोखिममा छन् ।
गर्भवती र स्तनपान गराइरहेकी महिलाहरूमा पनि कुपोषणको सङ्ख्या बढेको छ । यी महिलाहरू आफ्ना सन्तानलाई खान दिन आफूले पर्याप्त पोषण लिन नसक्ने अवस्थामा छन् । जहाँ सहायता रोकिएको छ, त्यहाँ परिवारहरूले छोरीहरूलाई सानो उमेरमै विवाह गर्न बाध्य बनाइरहेका छन् र बालबालिकालाई विद्यालयबाट निकालेर काममा पठाइरहेका छन् । अफगानिस्तान अहिले खाद्य असुरक्षा र कुपोषणको गम्भीर संकट भोगिरहेको छ, र लाखौं महिला र बालबालिकालाई जीवन रक्षाको लागि तत्काल सहयोग आवश्यक छ ।