काठमाडौं- नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज(NICCI) ले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौंमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको हाे ।
यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ । सभामा माननीय संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । NICC का अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्याउँदै आएको सहयोगको महत्व उल्लेख गरे।
वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि श्री संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उनको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि NICCका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा NICCको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘Member of the Year 2025’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘NICCI CSR Community 2025 Award’ प्रदान गरियो । नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।