महेन्द्रनगर- मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
धनुषा प्याब्सनको दोस्रो जिल्ला परिषद् भेलालाई आज सम्बोधन गर्दै उनले शिक्षा गुणस्तर अभिवृद्धिका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । सभामुख यादवले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राखी नीति र व्यवहारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
उनले निजी तथा संस्थागत विद्यालयले अनुशासन, गुणस्तर र प्रविधिमैत्री शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै समावेशी तथा सबैको पहुँचमा शिक्षा पुर्याउनुपर्ने धारणा व्यक्त गरे । प्याब्सन धनुषाका पदाधिकारीले जिल्लामा शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । परिषद् भेलाले सङ्गठन सुदृढीकरण तथा भावी कार्यक्रमसम्बन्धी विभिन्न प्रस्ताव पारित गरेको जनाइएको छ । भेलामा शिक्षक, विद्यालय सञ्चालक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
धनुषा प्याब्सनका अध्यक्ष नवल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्त कबिर बाल आश्रमका संस्थापक समाजसेवी सन्त सत्यनारायण आलोक, प्याब्सनका प्रदेश सचिव विष्णु न्यौपाने, शिक्षा समन्वय समिति धनुषाका अध्यक्ष चेतनाथ पोखरेल, विश्वलाल सिंह, डिजे चौधरीलगायत वक्ताहरूले निजी व्यावसायिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।