काठमाडौं - नबिल बैंक ‘विकास नायक २०८२’ सम्मानित भएको छ । विकास मिडियाले आयोजना गरेकाे विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरेको हो ।
उक्त समारोहमा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप बैंकलाई उक्त सम्मान प्रदान गरेको जनाएकाे हो ।
चार दशकभन्दा बढी समयदेखि नबिल बैंकले वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्दै आएको छ ।बैंकका सीईओ ज्ञवालीले भने, “विकास नायक २०८२ सम्मान प्राप्त गर्नु नबिल बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।”
वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने बैंकको प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको उनको भनाइ छ ।