सिन्ह्वा- टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो ।
साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहहरूलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पारेका छन्।
एर्दोगानले यमनमा विकसित हुँदै गएको अवस्थालाई टर्कीएले नजिकबाट अनुगमन गरिरहेको बताउँदै देशको भौगोलिक अखण्डता संरक्षणगर्नु शान्ति स्थापनाको आधार भएकोमा जोड दिएका छन् ।
सन् २०१४ देखि यमन गहिरो द्वन्द्वमा फसेको छ । सो वर्ष विद्रोही हुथी समूहहरूले राजधानी साना सहित उत्तरका व्यापक क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो ।
सन् २०१७ मा स्थापना भएको दक्षिणी ट्रान्जिसनल काउन्सिलले दक्षिणी यमनका लागि आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनमा सामेल भई यमनको राष्ट्रपति नेतृत्व परिषद्मा समावेश भए पनि शक्ति बाँडफाँड र स्रोत नियन्त्रणका विषयमा जारी विवादका कारण दक्षिणी सार्वभौमिकताको माग निरन्तर उठिरहेकै छ ।