एजेन्सी -भारत र श्रीलंकामा हुने टी-२० विश्वकप प्रतियोगिता खेलमा बंगलादेश सहभागी नहुने भएकाे छ । बाङ्ग्लादेशले आगामी महिनादेखि आरम्भ हुने टी२० विश्वकप प्रतियोगितामा "अहिलेको अवस्थामा" भारतमा हुने खेलहरूमा आफ्नो टोली सहभागी हुन नसक्ने भन्दै आफ्नो टोलीका खेलहरू भारतबाहेक अन्यत्र गराइदिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीलाई अनुरोध गरेको छ।
केही समयदेखि भारत र बाङ्ग्लादेशबीच राजनीतिक र कूटनीतिक तनाव बढ्दै गएको छ। यही परिप्रेक्ष्यमा भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुरोधमा आईपीएल टोली कोलकाता नाइट राइडर्स (केकेआर)ले शनिबार बाङ्ग्लादेशी बलर मुस्तफिजुर रहमानलाई हटायो।
त्यसपछि बाङ्ग्लादेश क्रिकेट बोर्ड (बीसीबी)ले आकस्मिक बैठक गर्दै आईसीसीलाई विश्वकपमा बाङ्ग्लादेशका सबै खेलका आयोजनास्थल सार्न अनुरोध गर्ने निर्णय गरेको हो।
"बाङ्ग्लादेशी खेलाडी, टोलीका पदाधिकारी, बोर्डका सदस्य र अन्य सरोकारवालाहरूको सुरक्षा र हित सुनिश्चित गर्न अनि टोलीले सुरक्षित र उचित वातावरणमा सहभागी हुने पाउने पक्का गर्न यस्तो कदम आवश्यक छ भन्ने बोर्डको मान्यता छ," बीसीबीले आइवार एउटा विज्ञप्तिमा भनेको छ।
फेब्रुअरी पहिलो साता सुरु हुने टी२० विश्वकपमा भारत र पाकिस्तानबीचको राजनीतिक तनावको प्रभाव यसअघि नै परिसकेको छ। ती दुई देशबीचको तनावलाई दृष्टिगत गरी पाकिस्तान सहभागी हुने खेलहरू सहआयोजक श्रीलङ्कामा गर्न लागिएको छ।आईसीसीले बाङ्ग्लादेशको अनुरोधबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
बाङ्ग्लादेश रहेको समूह 'सी'मा नेपाल, वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड र इटली छन्। सो समूहका चारवटै खेल भारतमा हुन लागेको छ। केही साताअघि बाङ्ग्लादेशमा एक हिन्दू युवकको हत्या भएपछि भारत र बाङ्ग्लादेशबीच तनाव अझ बढेको छ। सन् २०२४ मा सत्ताच्युत प्रधानमन्त्री शेख हसिना भागेर भारत पुगेपछि बाङ्ग्लादेशमा भारतविरोधी भावना अझ चर्किएको छ।
-बीबीसी