एएफपी- बंगलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशंका गरिएको छ । सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो ।
आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगंगा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ । विभिन्न स्थानमा चिन्ह नलगाइएका चिहानहरू फेला परेको आयोगले जनाएको छ ।
आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उहाँका शीर्ष अधिकारीहरूको निर्देशनमा काम गरेको उल्लेख छ । अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात-ए-इस्लामी र बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो । शेख हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ ।