काठमाडौं - नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ। पाँच भागमा निर्माण गरिएको यो वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । प्रत्येक भाग करिब २५ मिनेट लामो छ ।
‘हरामी’को प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ । सिरिजका विभिन्न भागमा निर्देशक निश्चल बस्नेत, अभिनेता आयुष्मान डीएस जोशी, अभिनेत्री आना शर्मा, गौमाया गुरुङलगायत कलाकार देखिएका छन् ।
युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गर्ने उद्देश्यले सिरिज निर्माण गरिएको निर्देशक तिम्सिनाले बताए । उनका अनुसार ‘हरामी’ले घरेलु दर्शकमा सीमित नभई युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राखेको छ ।‘प्रत्येक भागमा स्थापित कलाकारलाई समेटेर दर्शकलाई नयाँ सरप्राइज दिने प्रयास गरेका छौँ', उनले भने, ‘विश्वभर वेब सिरिज लोकप्रिय भइरहेका बेला नेपालमा पनि नयाँ प्रयोग गरेका हौँ ।'
सिरिजको कथा एउटै फ्ल्याटमा बस्ने तीन जना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विभिन्न आयामहरू प्रस्तुत गरिएका छन् । प्रत्येक भागमा फरक विषयवस्तुलाई उठान गर्ने प्रयास गरिएको छ । ‘हरामी’ निर्माणको प्रेरणाबारे निर्देशक तिम्सिनाले सिरिजका एक पात्र निकुन श्रेष्ठको जीवनबाट आइडिया आएको खुलासा गरे ।
कालिम्पोङबाट नेपाल आउँदा निकुनको घरमा बसेका बेला उनका बुबाआमा अमेरिका रहेका कारण उनी एक्लै बस्दै साथीहरूसँग स्वतन्त्र जीवन बिताइरहेको देखेपछि त्यसैबाट सिरिजको आधार तयार भएको उनले बताए । ‘फ्ल्याटमा बस्ने अवधारणा निकुनकै जीवनबाट आएको हो। हरि र मिलन पात्रमा भने मेरा भारतका साथीहरूको जीवन झल्किन्छ', उनले बताए ।
मन प्रोडक्सनसँग आबद्ध निकुन श्रेष्ठ सिरिजका कार्यकारी निर्माता समेत हुन् । यसमा सफल केसी निर्माता र प्रतीक गुरुङ क्रिएटिभ प्रोड्युसर हुन् । यी दुवै फिल्म ‘हरि’ का लेखक तथा निर्देशक हुन् । सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठसँगै ऋषिकेश बस्याल, शशांक बोहरा र रक्षा थापा रहेका छन् ।