काठमाडौं- विश्व चर्चित नेपाली वृत्तचित्र ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२औँ एथनोग्रा चलचित्र महोत्सवमा छनोट भएको छ । निर्देशक गणेश पाण्डेद्वारा निर्देशन गरिएको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) पेरिसमा हुने चलचित्र महोत्सवमा छनोट भएको हो ।
अमेरिकामा रहेको चलचित्रको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको जनाएको छ । निर्देशक गणेश पाण्डेले आगामी अप्रिल २ तारिखदेखि ५ तारिखसम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन पत्राचार भइसकेको जानकारी दिए। विश्वभरमा नेपाली वृत्तचित्रलाई चिनाउँदै आएको को-हजबेन्ड’ यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ ।
अन्तरराष्ट्रिय फिल्म महोत्सव (निफ)मा नेपालले प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली वृत्तचित्र क्षेत्र र यससँग जोडिएका व्यक्तिका लागि महत्वपूर्ण उपलब्धि मानिएको निर्देशक पाण्डेले धारणा राखे । उनका अनुसार बहुपति प्रथामा आधारित ३५ मिनेटको उक्त वृत्तचित्र (डकुमेन्ट्री फिल्म) कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।
“घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पहिलोपटक पर्दामा उतारेको हुँ”, निर्देशक पाण्डेले भने । यसले अन्तरराष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे जानकारीसहित थप बहस र चासो बढाउने अपेक्षा गरिएको उनको भनाइ छ ।